धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

तुइन बन्द हुँदा व्यासमा खाद्यान्न अभाव हुँदै

तुइन बन्द हुँदा व्यासमा खाद्यान्न अभाव हुँदै

धनगढी । भारतीय पक्षले महाँकाली नदीमा तुईन लगाउन रोक लगाएपछि दार्चुलाको व्यास गाउँपालिकामा खाद्य अभाव हुनथालेको छ । व्यास गाउँपालिका२ का ३५ बर्षिय जयसिंह धामीको तुईन तर्ने क्रममा महाँकालीमा खसेर मृत्यु भएको थियो ।

स्थानीयले तुईनको लठ्ठा भारतीय एसएसबिले काटेको आरोप लगाएपछि विवाद बढेको हो । विवाद बढ्दा भारतीय एसएसबिले महाँकनलीमा तुईन लगाउन रोक लगाएको छ । तुईन लगाउन रोक लगाउँदा खाद्य सामाग्री ढुवानी समेत अबरुद्ध बनेको स्थानीयको गुनासो छ ।

नेपाली भुभाग भएर व्यासमा खाद्यान्न ढुवानी गर्न निक्कै समस्या छ । स्थानीयका अनुसार बाटो निकै भिरालो र अप्ठ्योारो हुनु र ट्रयाक पुगेको सडक पहिरोका कारण हिड्न नमिल्ने भएपछि नेपाल तर्फको भुभाग भएर व्यासमा खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।

नेपालतर्फबाट सडकको पहुँच नभएका व्यास गाउँपालिका वडा नम्बर १, २ र ३ का बासिन्दा खाद्यान्नको अभाव खेप्न बाध्य भएको गाउँपालिकाका प्रवक्ता धिरनबहादुर बुढाथोकीले बताए ।

व्यास गाउँपालिका२ का वडाध्यक्ष समेत रहेका बुढाथोकीका अनुसार भारतीय एसएसबीले तुइनको डोरी फुकालिदिँदा महाकाली नदीमा खसेर मालगाउँका जयसिंह धामी बेपत्ता भएपछि भारतीय पक्षले तुइन पूर्ण रुपमा बन्द गरिदिएको छ ।

गाउँपालिकाको केन्द्रसम्म ट्रयाक खोलिएको दार्चुलातिङ्कर सडक पनि पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएकाले ट्रयाक्टर मार्फत खाद्यान्न ढुवानी गर्ने विकल्प पनि बन्द भएको उनले बताए ।

ढुवानी अभावमा यहाँका जनता चामल र पीठोको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् उनले भने–‘सुनसेरा र राप्लाको खाद्य डिपोमा चामल छैन, गाउँपालिकाको केन्द्रसम्म ट्रयाक खोलिएको दार्चुलातिङ्कर सडक पनि पहिरोका कारण अवरुद्ध छ । उनले सो समस्याका विषयमा प्रदेश र संघीय सरकारलाई जानकारी गराइएको भएपछि दुई वटै सरकारबाट कुनै प्रतिक्रिया नआएको उनले बताए ।

गत वर्ष वडा नम्बर २ का बासिन्दाका लागि आएको पाँच सय क्वीन्टल चामल यसअघि नै वितरण भइसकेको छ । वडा नम्बर २ को मालगाउँ, राप्ला, दुम्लिङ र कोठेधारमा सबैभन्दा बढी खाद्यान्नको अभाव भएको छ ।

उनका अनुसार त्रिदेशीय सीमानामा रहेको सीतापुल छोटी भन्सारमा पनि भारतीय एसएसबीको ज्यादतीका कारण व्यासबासी झनै समस्यामा परेका छन् । विगतमा सीतापुलदेखि सहज रुपमा दैनिक उपभोग्य लगायतका सामान ढुवानी गर्न दिंदै आएको एसएसबीले नयाँ नक्सा र जयसिंह धामी नदीमा बगेर बेपत्ता भएको घटनापछि सताउन थालेको उनले बताए ।

सीमा विवादका कारण सीतापुल भएर पनि आवतजावत गर्न सक्ने अवस्था छैन । उनले भने–‘हात जोडेर, बिन्ती गरेर, उनीहरुलाई सलाम गरेर मात्र एसएसबीले थोरै थोरै सामान ल्याउन दिने गरेको थियो, जयसिंह धामी बेपत्ता भएको घटनापछि त्यो पनि रोकेको छ ।

वडा नम्बर१ का वडा अध्यक्ष अशोकसिंह बोहराले लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विवादका कारण एसएसबीले सीमा क्षेत्रका बासिन्दालाई दुःख दिंदै आएको बताए ।