धनगढी पोष्ट
मङ्गलबार, ०१ भदौ २०७८ मा प्रकाशित
धनगढी । संसद विघटन पछि एमाका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहँदै आएका कैलाली क्षेत्रनम्बर–२ का सांसद झपट रावल मंगलबार सो समुहको बैठकबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि मंगलबार नेकपा एमालेको माधवकुमार नेपाल समूह पक्षका सांसदको भेला भइरहेको छ ।
राजनीतिक दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने सरकारको निर्णयपछि सुरु भएको भेलामा नेता नेपाल पनि सहभागी छन् । भेलामा सहभागी भएका कैलालीबाट विजयी प्रतिनिधि सभा सदस्य झपट रावल भने बाहिरिएका छन् ।
भेलामा सांसद रावलले अहिले नै नयाँ पार्टी निर्माण गर्ने निर्णयमा जानुभन्दा एमाले एकताका लागि अझै संघर्ष गर्नुपर्ने धारणा राखेर बाहिरिएका हुन् । आन्तरिक छलफलको बीचमा निस्केका रावलले दल विभाजन सम्बन्धी प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेश गलत भएको प्रतिक्रिया दिएका छन् ।