धनगढी पोष्ट
शुक्रबार, ०४ भदौ २०७८ मा प्रकाशित
धनगढी
लगातारको वर्षाका कारण पहिरो खस्दा बझाङको यातायात सेवा अवरुद्ध बनेको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शुक्रबार बिहान जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध बनेको हो ।
राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहान ६ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी,महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् ।