धनगढी पोष्ट
शनिबार, ०५ भदौ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नियम विपरित काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गरेर करिव ७ लाख बजेट दुरुपयोग गरेको पाइएको छ ।
महालेखा परीक्षकको वार्षीक प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेर बजेट दुरुपयोग गरिएको छ । महालेखाको बार्षिक प्रतिवेदन अनुसार काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गर्नु कानूनी व्यवस्था र नीतिगत निर्णय विपरित रहेको छ । काठमाण्डौंमा कार्यालय स्थापना गर्नुको औचित्य प्रष्ट नभएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सरकार र संघिय सरकार विच समन्वय गर्न प्रदेश प्रमुखको व्यवस्था गरिएको भएपनि सरकारले त्यस विपरित सम्पर्क कार्यालय स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाण्डौंमा कार्यालय स्थापना गरेर प्रदेशसरकारले टेलिभिजन, कम्प्युटर, फर्निचर खरिद र कार्यालय मर्मत तथा रंगरोगनमा ६ लाख ८५ हजार खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।