धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

के सुदूरपश्चिममा मुख्यमन्त्री फेरिन लागेका हुन् ?

के सुदूरपश्चिममा मुख्यमन्त्री  फेरिन लागेका हुन् ?

धनगढी । नेकपा एमाले विभाजित भएपछि सुदूरपश्चिमको राजनीतक समिकरण फेरिने सम्भावना बढेको छ ।

माधव कुमार नेपालले नयाँ पार्टी गठन गरे लगत्तै एमालबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य अहिले काठमाण्डौं गएका छन् । काठमाण्डौंमा उनिहरुले नेपाललाई आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै दवाव दिदै आएका छन् ।

मुख्यमन्त्रीको लाईनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिर्घ सोडारी रहेको एमाले निकट नेता बताउछन् । एमाले फुटेर नेपालले नयाँ दल दर्ता गरेसंगै सोडारी लगायत केही नेता काठमाण्डौंमा छन् –‘सोडारी निकट एक नेताले भने– ‘उनिहरुले नेपाललाई मुख्यमन्त्रीका लागि सहमति गर्न दवाद दिइरहेका छन्, नेपालले पनि यस विषयमा छलफल चलाएका छन् ।

एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका २५ सदस्य मध्य यसअघि १७ जनाले माधव समुहलाई समर्थन गर्दै आएका थिए । पार्टी फुट्दा सुदुरपश्चिममा मुख्यमन्त्री पाए ती सांसद मध्य अधिकांसलाई आफ्नै समुहमा रोक्न सकिने दिर्घ सोडारी लगायत नेताको दावी छ ।

भौतिक पूर्वाधार बिकास मन्त्री समेत रहेका दिर्घ सोडारीसंगै हाल आन्तरिक मामिला तथा कानून मन्त्री रहेकी पुर्णा जोशी र पूर्व मन्त्री माया भट्ट माधव नेपालले दर्ता गरेको पार्टीमा लागिसकेका छन् प्रदेश सभाका एक सदस्यले भने – ‘मुख्यमन्त्री पाउँदा अरु सांसदलाई पनि पार्टीमा ल्याउन सकिन्छ भन्ने हो ।

खासगरी एमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र संसद पुनस्र्थापना गर्न माधब नेपालले ठुलो सहयोग गरेका कारण कांग्रेस र माओबादीले सुदुरपश्चिममा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री दिने यहाँका नेताको ठम्म्याइ छ ।

संसद पुनस्र्थापनामा  सहकार्य गरेका माओबादी र कांग्रेसले दुई, दुई प्रदेशमा मुख्यमन्त्री पाईसकेका छन्– ‘दिर्घ सोडारी नजिकका एक नेताले भने– ‘माधव नेपाललाई पनि सम्मान गर्नुपर्छ भनेर हामीले यहाँ मुख्यमन्त्री मागेका हौं, त्यो सम्भब पनि छ ।

ती नेताका अनुसार माधब कुमार नेपाललाई प्रदेश नम्बर १ र सुदूरपचिममा  सरकारको नेतृत्व दिने अवसर छ । प्रदेश नम्बर१ का सांसदले पनि राजेन्द्र राईको नेतृत्वमा नेकपा एकिकृत समाजबादी पार्टीले मुख्यमन्त्री पाउनु पर्ने भन्दै लविङ गरिरहेका छन् । तर सुदूरपश्चिममा सरकारको नेतृत्व गर्दा पार्टीमा धेरै प्रदेश सभा सदस्यलाई ल्याउन सकिन्छ भन्ने हाम्रो धारणा  हो सोडारी निकट ती नेता भन्छन्– ‘अन्यथा सुदूरपश्चिममा हाम्रो पकड कमजोर हुनेछ ।

हाल सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह छन् । उनी माधव समूहले दर्ता गरेको नयाँ पार्टीमा जाने सम्भावना कम देखिएको छ । त्यस्तो अवस्थामा माधव समूहको पार्टीले संसदीय दलको नेता नयाँ छनोट गर्ने छ ।

एमाले सुदूरपश्चिमको संसदीय दलमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीको प्रभाव बलियो छ । माधव कुमार नेपाल र भीम रावल निकट मानिने सोडारीको पकड पनि राम्रो रहेको छ  । उनले धेरै प्रदेशसभा सदस्यलाई आफूसंगै लैजाने दावी समेत गर्दै आएका छन् ।

हाल काठमाडौँमा रहेका सोडारीले माधव कुमार नेपालले खोलेको नयाँ पार्टी एमाले (समाजवादी) मा जाने बताएका छन् । सुरुमा माधव पक्षघरलाई एक बनाउनेमा हाम्रो ध्यान केन्द्रीत छ उनले भने– ‘केपी शर्मा ओलीले हामीभित्र पनि विवाद ल्याउन खोजिरहेका छन्, भागबण्डामा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाए मुख्यमन्त्रीमा सम्भावना छ ।

सुदूरपश्चिममा एकालेका २५ प्रदेशसभा सदस्य मध्य १७ जनाले यसअघि माधव समुहलाई साथ दिएका थिए । ७ जनाले ओली समुहलाई रोजेका थिए भने १ जना सभामुख छन् ।

माओबादी तयार छैन सरकार छोड्न

प्रदेश सरकारले स्थापनादेखी नै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्दै आएको नेकपा माओबादी केन्द्र सरकारको नेतृत्व छोड्ने मनसायमा देखिएको छैन । हाल मुख्यमन्त्री रहेको त्रिलोचन भट्टको कार्यशैली प्रति माओबादीकै नेता असन्तुष्ट रहँदै आएका छन् ।

तर आफ्नै नेतृत्वमा रहेको सरकार छाड्न नहुने माओबादी नेताको अडान छ । माओबादी केन्द्रका प्रभावशाली नेता खगराज भट्टले आफ्नै पार्टीको नेतृत्वमा सरकार कायमै रहने बताए । पार्टी भित्रका समस्यालाई आन्तरिक छलफल गरेर टुङ्गयाउन सकिन्छ उनले भने– ‘तर नेतृत्व फेर्नुपर्छ  भन्ने हाम्रो धारणा हैन ।

उनले आफ्नै पार्टीको नेतृत्व रहने गरी पात्र फेर्न भने सकिने बताए ।  पार्टीभित्र धेरै सक्षम नेता रहेको बताउँदै उनले सवैले पालो पाउनुपर्ने बताए ।

तर केन्द्रमा हुने सहमतिलाई भने नकार्न नसकिने उनले बताए । राष्ट्रिय महत्व हेरेर पार्टीले केन्द्रमा कुनै सहमति गरेमा त्यसलाई नकार्न त सकिदैन, उनले भने– ‘हालसम्म केन्द्रमा त्यस विषयमा कुनै छलफल भने भएको छैन ।