धनगढी पोष्ट
सोमबार, ०७ भदौ २०७८ मा प्रकाशित
काठमाण्डौं । महालेखा परीक्षकको कार्यालयले आधा काम पूरा नहुदै धरहराको उद्घाटन भएको भन्दै बताएको छ । साथै धरहराको काम तोकेको समयमा सम्पन्न हुन नसक्ने महाँलेखाको आशंका रहेको छ । शुक्रवार सार्वजनिक भएको प्रतिवेदनमा धरहराको आधा पनि काम नभएको उल्लेख छ ।
काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भएको छ’ महाँलेखाको प्रतिवेदनमा भनिएको छ–‘निर्माण भएको कामको भौतिक प्रगति ४५ प्रतिशतमात्रै हो, सरकारले अधुरो धरहराको कामको उद्घाटन गरेको छ ।’
सरकारले आर्थिक वर्ष २०७२÷७३ देखि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सञ्चालन गरेर कोष खडा गरेको थियो । कोषमा २०७७ असार मसान्तसम्म जम्मा ८ करोड ३४ लाख रुपैंया संकलन भएको थियो ।
महालेखाले धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग हुनुपर्नेमा जोड दिएको छ । पुरातत्व विभागबाट स्वीकृत डिजाइन अनुसार २२ तलाको धरहरा र अन्य संयचनाको निर्माण गर्न ५ अर्ब ४६ करोड ४३ लाखको लागत अनुमान तयार भएको थियो । ३ अर्ब ८ करोड ११ लाख रुपैंयामा २४ महिनामा काम सकिने गरी २०७५ साल असोज १४ गते सम्झौता भएको थियो ।