धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिममै राजपत्र छपाई सुरु

सुदूरपश्चिममै राजपत्र छपाई सुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै मेसिनबाट राजपत्र छाप्न सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतमा रहनेगरी जडान गरिएको मुद्रण मेशिनले मंगलबार देखी राजपत्र छाप्ने काम सुरु गरेको हो ।

मेसिनको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उद्घाटन गरिन् । मेसिन उद्घाटन गर्दै मन्त्री जोशीले अव राजपत्र छपानका लागि काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।

सरकारले निर्माणगर्ने ऐन, कानुन देखी आफ्ना निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने प्रावधान रहेको छ उनले भनिन्–‘काठमाण्डौंमा राजपत्र छपाई गर्दा समय धेरै लागने गरेको थियो अव त्यो समस्या समाधान भएको छ ।

मन्त्री जोशीले प्रदेश सरकारका दर्जनौ कागजपत्र अहिले पनि मुद्रण विभागमा थन्किएका र छाप्न ढिलाई हुँदा सरकारले गरेका निर्णय कार्यान्वयनमा जटिलता आइरहेको बताइन् ।

मन्त्रालयका प्रवक्ता तथा कानून अधिकृत मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेशिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए ।