धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलाली लगायत तराईका जिल्लामा भारी बर्षको सम्भावना

कैलाली लगायत तराईका जिल्लामा भारी बर्षको सम्भावना

धनगढी । मनसुनी न्यूनचापिय रेखाको प्रभावका कारण कैलाली, कञ्चनपुर लगायत तराईका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार रातीदेखी मनसुनी न्यूनचापीय रेखा तराई नजिक रहने र त्यसले कैलाली कञ्चनपुर लगायत तराईका भुभागमा ठुलो बर्षा हुन सक्ने मौसमविद मञ्जु बासीले बताइन् । उनका अनुसार मनसुनी न्युनचापिय रेखा नेपाल नजिक सरिरहेकाले बुधबार तराईका धेरै स्थानामा बर्षा हुने छ ।

नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी  न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् बासीले बताइन् । न्युनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले आगामी ३÷४ दिन निरन्तर बर्षा हुने अनुमान गरिएको छ ।

मौसमविदका अनुसार बाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसो ठूलो बर्षा हुने सम्भावना रहेको छ । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा भारी बर्षा हुन सक्ने उनले बताइन् ।

यसैगरी बिहबिार र शुक्रबार पनि देशका केही ठाउँमा भारी बर्षा हुनसक्ने र अधिकांस स्थानमा   हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बासीले बताइन् । मनसुन सक्रिय हुँदा केही स्थानमा भारी बर्षा भई बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरिएकोछ ।