धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सवारी दुर्घटना रोक्न ‘विश्राम स्थल’

सवारी दुर्घटना रोक्न ‘विश्राम स्थल’

धनगढी । जिल्ला प्रहरी कार्यालय डोटीले सवारी दुर्घटना न्यनीकरणकालागि भन्दै विश्राम स्थल निर्माण गरेकोछ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट आउने साना तथा ठुला सवारीसाधनलाई थकान मेटाउन विश्राम स्थल निर्माण गरिएको प्रहरीले जनाएकोछ । चालकले निरन्तर सवारी चलाउँदा थकानका कारण समेत सवारी दुर्घटना हुनेगरेको निस्कर्ष निकाल्दै प्रहरीले विश्राम स्थल निर्माण गरेकोहो ।

लामो दुरीको यात्रामा चालकहरू थकित भएर हुने दुर्घटना रोकथामका लागि अत्तरियाडडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतको डोटीको बुडर बजारमा अस्थायी ट्राफिक प्रहरी पोस्टले रिफ्रेश सेन्टर स्थापना गरेको हो । ट्राफिक प्रहरीले स्थापना गरेको रिफ्रेश सेन्टरमा अब चालकले अनिवार्य गाडी रोक्नुपर्ने नियम बनाइएको छ ।

त्यस सेन्टरमा कम्तीमा चालक र यात्रुले आधा घण्टासम्म आराम गर्नुपर्ने नियम रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट बुडरका प्रमुख तथा ट्राफिक प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउँदले बताउए । उनका अनुसार विश्राम स्थलमा ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालनबारे कक्षा समेत सञ्चालन गर्नेछन् । विश्राम स्थलमा प्रहरीले सुवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु समेत सिकाउनेछन् प्रहरी निरिक्षक साउँदले भने–‘प्रशिक्षण पवछि मात्रै चालक पुनः गन्तव्यतर्फ जान पाउनेछन् ।

निरन्तरको यात्राबाट थकित चालकले रिफ्रेश सेन्टरमा आराम गर्न पाउने, गाडीले पनि आराम पाउने र गति पनि नियन्त्रण हुने भएकाले सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीको दाबी छ । सुदूरपश्चिमका ७ वटै पहाडी जिल्ला जोड्न बुडरको सडक अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ ।

भीमदत्त राजमार्ग अन्तरगत पर्ने सो सडक खण्डमा दैनिक जसो  सवारी दुर्घटना हुने गर्दछ । पटकपटक भएका सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति हुन थालेका कारण रिफ्रेश सेन्टर स्थापना गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाका विभिन्न ठाउँमा पनि रिफ्रेश सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा ट्राफिक प्रहरी प्रमुख वामदेव गौतमले बताए ।

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको पिपल्ला बजारमा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष निर्माण गरेको छ । यात्राका क्रममा यात्रुलाई परेको समस्या समाधान होस् भन्ने उद्देश्यका साथ नागरिक सहायता कक्षा स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायब निरीक्षक सोभानसिंह कार्कीले बताए ।

उहाँका अनुसार सवारी दुर्घटना रोक्न आवश्यकताअनुसार अन्य ठाउँमा पनि रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्षसमेत स्थापना गरिने भएको छ । भीमदत्त राजमार्गको बुडरमा रिफ्रेश सेन्टर सञ्चालनमा आएपछि सवारी दुर्घटनामा केही कमी आएको चालकहरू बताउँछन् ।

धेरैजसो सवारी दुर्घटना चालकको लापर्बाहीले हुने गरेका र लामो दुरीको यात्रामा चालकलाई आराम चाहिने भएकाले पनि रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्षलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिन थालिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

भौतिक पूर्वाधारको अभावमा डोटीका विभिन्न ठाउँमा खेलिएका रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्ष आधुनिक बनाउन नसकिएको ट्राफिक प्रहरीको भनाइ छ । शैलेश्वरी यातायात प्राली दिपायलका प्रमुख प्रेमबहादुर रावलले दुर्घटना न्यूनीकरणका लागि रिफ्रेश सेन्टर तथा नागरिक सहायता कक्ष प्रभावकारी बनेको बताए ।

दिपायल सिलगढी नगरपालिकाका उपमेयर शिवराज खड्काले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालक सहित यात्रुसँग जनचेतनामूलक कार्यक्रम गर्न पनि आवश्यक रहेको बताए ।