धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीका विभिन्न क्षेत्रमा बाढी, १ जनाको मृत्यु, सय बढी घर प्रभावित

कैलालीका विभिन्न क्षेत्रमा बाढी,  १ जनाको मृत्यु, सय बढी घर प्रभावित

धनगढी । कैलालीको पहाडी क्षेत्रमा भएको अबिरल बर्षाका कारण तराईक्षेत्र प्रभावित बनेकोछ । पहाडी क्षेत्रमा बिहीबार राती देखी भइरहेको बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा बाढी आएकोछ । बाढीका कारण १ जनाको मृत्यु भएको छ भने, १ घर बगाउनुका साथै सय बढी घर डुवानमा परेका छन् ।

मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका६ का ९५ बर्षिया फुपिया थारु रहेकिछन् । स्थानीय गुलरा नदीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । बिहीबार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएको प्रवक्ता बिष्टले बताए ।

बाढीमा परेका २ जनाको उद्धार भएकोछ । प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका३ कुचैनी बस्ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाको बीच भागमा फसेका थिए ।

उनीहरुको मध्यराति उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनिहरुको  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्दार गरेको सूचना अधिकारी जोशीले बताए ।

बाढीले जिल्लामा एक घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलालीकंचनपुर जोड्ने स्काई फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका ३ र कंचनपुरको बाईसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधिन पक्किपुलको दुबै किनारमा भरान गरिएको माटो बगाउदा आवागमन ठप्प भएको छ ।

यस्तै जिल्लामा पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए । जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ उनले भने–‘सशस्त्र प्रहरीको टोली त्यहाँ उद्धारको लागि खटिएको छ ।

यस्तै कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । चुरे क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए ।

यस्तै कैलारी गाउँपालिका वठा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पसेको स्थानीयले बताएका छन् ।