धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

‘ठूली गौरा’मनाइँदै

‘ठूली गौरा’मनाइँदै

धनगढी । बैतडी सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज (आइतबार) तेस्रो दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौराभनिने भाद्र सप्तमि तिथिका दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।

ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको पण्डित विष्णुदत्त पन्तले बताए ।

उनले भने गौरादेवीको आराधना ब्रतालु महिलाहरुले फाग मार्फत गर्ने गरेका छन् । गौरादेवीलाई भित्र आएर बसीदिन उनीहरुले फाग मार्फत नै आग्रह गर्ने गरेका छन् ।

गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।

गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।  गौराको मुख्यदिन भोलि (सोमबार) दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।