धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला पहिरो

उद्धार र राहतका लागि हेलिकप्टर लग्ने तयारी

उद्धार र राहतका लागि हेलिकप्टर लग्ने तयारी

धनगढी । दार्चुलामा आएको पहिरोपिडितको उद्धार तथा राहत प्रदान गर्न हेलिकप्टर पठाइने भएकोछ । प्रदेश सरकारको समन्वयमा नेपाल सरकारले दार्चुलमा हेलिकोप्टर पठाउन लागेकोहो ।

पहिरोका कारण नागरिकलाई समस्या भएको र तत्काल पिडित परिवारलाई उद्धार तथा राहत पर्दान गर्न हेलिकोप्टर पठाइन लागिएको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् । उनले पहिरो पिडितको उद्धारमा खट्न सवै स्थानीय तह, सुरक्षाकर्मीलाई समेत निर्देशन दिएको बताइन् ।

आइतबारराती दार्चुलाका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

यस्तै दुहुँ गाउँपालिका५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् ।

निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् ।