धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला पहिरो

घाइते दुई जनालाई उपचारका लागि हेलिकोप्टर मार्फत धनगढी ल्याइयो

घाइते दुई जनालाई उपचारका लागि हेलिकोप्टर मार्फत धनगढी ल्याइयो

धनगढी । दार्चुला पहिरोमा घाइते भएका दुई जनालाई उपचारकालागि हेलिकोप्टरमार्फत धनगढी ल्याइएकोछ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएकोहो ।

दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । उनका अनुसार बाढी पहिरोमा परी तीन जनाको मृत्यु भइसकेकोछ ।

बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

यस्तै दुहुँ गाउँपालिका५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् ।

निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयले उद्धार गरिरहेका छन् ।