धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला तुईन प्रकरण

समय लम्ब्याएर पञ्छिदै छानविन समिति

समय लम्ब्याएर पञ्छिदै छानविन समिति

 

धनगढी । गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका२ का जयसिंह धामी तुईनबाट खसेर वेपत्ता भएपछि सरकारले छानविनका लागि समिति गठन गरेकाथियो ।

साउन १७ गते गठित समितिले १ साता भित्रै छानविनको प्रतिवेदन सरकारलाई बुझाउने भनेपनि हालसम्म समितिले प्रतिवेदननै तयार पारेकोछैन । यस विचमा अध्ययन समितिले ४ पटक म्याद थप गरिसकेको छ ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन खुस्काइदिएपछि महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको घटनास्थल भारतीय भूमिमा भएको र अनुसन्धानका लागि सबुत प्रमाण फेला नपरेको भन्दै छानबिन समिति अहिले पञ्छिनथालेकोछ ।

दार्चुलाको व्यास२ मालघाटमा एसएसबीले तुइनको लठ्ठा निकालेपछि ३३ बर्षिय जयसिंह धामी महाँकालीमा बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले एक महिना लगाएर गरेको छानबिनमा घटनास्थल भारतीय भूमि गस्कु भएकाले उक्त घटनाको नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी जटिलता रहेको निष्कर्ष निकालेको हो ।

सरकारी उच्च स्रोतका अनुसार यही निष्कर्षका साथ प्रतिवेदन लेखनलाई अन्तिम रूप दिएर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाउने तयारीमा समिति लागेकोछ । त्यसकै लागि सोमबार दिनभरि समितिका संयोजक र सदस्यहरूले गृह मन्त्रालयमा छलफल गरेका थिए । गृहमन्त्री संग कुरा गरेपछि समितिले ३ दिनमा प्रतिवेदन बुझाउने जनाएकोछ ।

सोमबार सार्वजनिक बिदा भएका कारण मंगलबार चौथो पटक बढीमा तीन दिन समय तोकेर म्याद थप गर्न लागिएको र यस पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको छ । छानबिन समितिको यो निचोडसँगै जयसिंह धामीका परिवारले न्याय पाउने र अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने सम्भावना कमजोर बनेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको प्रतिवेदन बुझेपछि मात्रै यस विषयमा सबै कुरा जानकारी गराइने बताए । दार्चुलाको व्यास गाउँपालिका, मालघाटका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते तुइनबाट भारतको गस्कु हुँदै सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा खसेका थिए । मालघाटबाट गस्कु जाने क्रममा महाकाली तर्न केही दूरी बाँकी छँदा एसएसबीका जवानले लट्ठा खुस्काएपछि धामी भेलमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए । तर, घटनापछि बेपत्ता धामीको अवस्था अझै अज्ञात छ । अपराधमा संलग्नको पनि अत्तोपत्तो छैन । यसको खोजबिनका लागि भारतीय प्रशासनले पनि असहयोग गरेको छ ।

घटनाको दुई दिनपछि साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सम्मिलित छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएका थिए । तर, तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि त्यसयता तीन पटक गरी २१ दिनको समय बढाइएको थियो । छानबिन समितिसँगको अनौपचारिक परामर्श र सुझावपछि भदौ १० मै गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले बेपत्ता रहेका धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

घटनाका दोषीलाई कारबाही गर्नेभन्दा आर्थिक सहायता दिएर पीडित परिवारलाई थामथुम पार्न सरकार नै लागिपरेको भन्ने आशंकालाई समितिको निष्कर्षले पनि पुस्ट्याइँ गरिदिएको छ । भारतीय प्रहरीमा दिइएको निवेदनको बेवास्ता घटनामा एसएसबीको संलग्नता रहेको भन्दै साउन १५ मा भारतको पाङलास्थित उत्तराखण्ड प्रहरीको थानामा जयसिंह धामीका आफन्तले घटना भएकै दिन निवेदन दिएका थिए । तर, भारतीय प्रहरीले निवेदनका आधारमा घटनाको अनुसन्धान गरे ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटना भारतीय भूमिमा भएको कारण औपचारिक अनुसन्धान गर्नुको सट्टा धामीको खोजीसम्बन्धी विषयलाई खोजतलास मा राखेको छ । दार्चुलाका डीएसपी मनोहरप्रसाद भट्टले बेपत्ता व्यक्तिबारे अनुसन्धानका लागि जाहेरी नपरेको तर प्रहरी आफैंले खोजतलास गरिरहेको बताए ।