धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिमका ४ लाख बढीलाई कोरोनाको पूर्ण खप लगाइयो

सुदूरपश्चिमका ४ लाख बढीलाई कोरोनाको पूर्ण खप लगाइयो

धनगढी । सुदूरपश्चिमका ४ लाख १ हजार ३३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाइएको सामाजिक विकास मन्त्रालयले जनाएकोछ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख १ हजार ५ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएकोमा २ लाख ४ सय ५८ जनाले दोश्रो डोज लगाउन बाँकी रहेको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख तथा मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीका अनुसार सुदूरपश्चिममा ३ लाख ५ हजार ५ सय ५५ जनाले कोरोना विरुद्धको दुई वटा डोज खोप लगाएका छन्, भने ९५ हजार ४ सय ७८ जनाले जोसन एण्ड जोसनको एउटा डोज खोल लगाएका छन् ।

उनका अनुसार भदौ १५ गते सम्म कैलालीमा सवै भन्दा बढी १ लाख ५५ हजार ५ सय १० जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । यसैगरी कञ्चनपुरमा ८७ हजार ५८, अछाममा ३० हजार ६ सय ७०, डोटीमा ३१ हजार ८ सय ८९ जनाले कोरोनाको पुर्ण खोप लगाएका छन् ।

यसैगरी डडेल्धुराका १२ हजार १ सय ६२, बैतडीका ३५ हजार ५ सय २६, दार्चुलाका १९ हजार ४ सय ४८, बझाङका २२ हजार ५७ र बाजुराका ७ हजार २ सय १३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रबक्ता कार्कीले बताए ।

केन्द्र सरकारले उपलब्ध गराउने खोपका आधारमा प्रदेशमा आगामी दिनमा थप खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए । असोज सम्म थप २ लाख जनालाई कोरोना विरुद्धको खोप लगाउन सकिने अनुमान गरेकाछौं, कार्कीले भने–‘तर संघबाट खोप नआई केहीगर्न सक्दैनौं ।