धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै डडेल्धुरामा कांग्रेसको क्रिया

क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै डडेल्धुरामा कांग्रेसको क्रिया

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा एक व्यक्तिले कांग्रेसको काज क्रिया गरेका छन् ।

क्रियाशिल सदस्यताबाट आफ्नो नाम हटाइएको भन्दै डडेल्धुराको अमरगढी नगरपालिका९ का सभापति नरबहादुर पालले नेपाली काग्रेस पार्टीकै क्रिया गरेका हुन् । आफ्नो कपाल मुण्डन गरेर उनले १० दिन सम्म कांग्रेसको क्रिया गर्ने जनाएका छन् । सोमबार देखी क्रिया थालेका पालले आफूले पार्टीमा दिएको योगदानको अनादर भएपछि क्रिया गर्न थालिएको बताए ।

डडेल्धुरामा नेपाली कांग्रेसले आइतबार क्रियाशिल सदस्यको नामावली सार्वजनिक गरेको थियो । नाम सार्वजनिक भएसंगै डडेल्धुरामा कांग्रेसको क्रियाशिल सदस्यताबारे विवाद भएकोछ ।

नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो । जसमध्ये ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ ।

हटाइका सदस्यहरुमा जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्व जिल्ला सभापति तथा पूर्व परशुराम नगर सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका छन् ।

डडेल्धुरामा कांग्रेस जिल्ला कार्यसमितिले नामै सिफारिस नगरेका  ३ सय १२ जनाको नाम क्रियाशिल सदस्यमा आएको क्रियाशिल सदस्यता वितरण समितिको भनाईछ ।