धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

देउवापुत्रले क्रियाशिल पाउँदा १६ जनाको क्रियाशिल खोसियो, डडेल्धुरामा हंगामा

देउवापुत्रले क्रियाशिल पाउँदा १६ जनाको क्रियाशिल खोसियो, डडेल्धुरामा हंगामा

धनगढी । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले डडेल्धेराबाट कांग्रेसको क्रियाशिल सदस्यता पाउँदा उनकै क्षेत्रका १६ जना कांग्रेसका पुराना नेताको क्रियाशिल सदस्यता खोसिएकोछ । जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका१ बाट सदस्यता लिएका छन् । सोही वडाका १६ जनाको क्रियाशिल सदस्यता भने खोसिएको भन्दै विवाद बढेकोछ ।

गन्यापधुरा गाउँपालिका१ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ । गन्यापधुरा गाउँपालिका१ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए ।

देउवाका पुत्र जयबिरले क्रियाशिल सदस्यता पाउँदा  जिल्लामो कार्यकताबीच कुटाकुट हुन थालेको छ । खासमा सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर जयवीरसहित १० जनाको नाम थपेको भन्दै अरु नेता तथा कार्यकर्ता आक्रोशित बनेका हुन् ।

नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट समेत भएकोछ । मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको थियो । सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो ।

क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरुलाई दुराशयपूर्ण तरिकाले उक्साउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको कांग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए ।

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ । सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउँद लगायतका नेताहरू छन् । यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ । यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो ।

क्रियासिल सदस्यता विवादका कारण गाँउ बस्तीसम्म मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रकृयागत रुपमा क्रियाशील सदस्यता वितरण गरिनुपर्ने नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए ।

प्रक्रियागत ढंगले पठाइएका क्रियाशील सदस्यहरुको नविकरण गरिएको छैन भने नयाँ सदस्यताका लागि पठाइएको नामावलीसमेत फेरवदल गरि पार्टीका कार्यकर्ताको भावना विपरीत पार्टी सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रको पालामा कमल थापा गृहमन्त्री हुँदा उनले गरेको निर्वाचन भन्दा अपारदर्शी रुपमा निर्वाचन गराउनु खोज्नु  खेदजनक रहेको जिल्ला सभापति मल्लले बताए ।

आफ्नो जिल्लामा सम्पन्न गर्नु पर्ने सातौँ जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवार पनि शेरबहादुर देउवाले नै तोक्नुहुन्छ, उनले भने,‘यसैका लागि उनी १० वर्ष जेल बस्नुभएछ, यसैका लागि उनलाई लोकतान्त्रिक पार्टीको केन्द्रीय सभापति बनाएका थिए, मतदाता नामावली पनि उनले नै तोक्ने काम गरेका छन् ।

राणाकालमा श्री ३ हरूले आफ्ना जर्नेलहरूलाई निर्देशन दिए जस्तै निर्वाचन कमिटीलाई बालुवाटारबाट कडा निर्देशन दिएर मतदाता नामावली प्रकाशन गर्ने कार्यको घोर भर्त्सना गर्ने उनले चेतावनी दिए ।