धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

नेकपा एसमा सनाखत माग गर्दै कैलालीकी राष्ट्रिय सभा सदस्य शारदा भट्टद्वारा सर्वोच्चमा रिट

नेकपा एसमा सनाखत माग गर्दै कैलालीकी राष्ट्रिय सभा सदस्य शारदा भट्टद्वारा सर्वोच्चमा रिट

धनगढी । कैलालीबाट राष्ट्रिय सभामा प्रतिनिधीत्व गर्ने शारदा भट्टले माधव नेपाल अध्यक्ष रहेको नेकपा (एस)मा सनाखत गर्न पाउनुपर्ने भन्दै सर्बोच्च अदालतमा रिट दायर गरेकिछन् । उनिसंगै पाल्पा क्षेत्र नं.२ बाट निर्वाचित सांसद सोमप्रसाद पाण्डेले पनि  एकीकृत समाजवादी पार्टीमा सनाखतको माग गर्दै रिट दायर गरेका हुन् ।

दुवैजनाले उनीहरूले एमाले छाडेर आफूहरू एकीकृत समाजवादीमा गएकाले निर्वाचन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । दुवैले आफूहरूले एमाले परित्याग गरेर नेकपा (एस) रोजे पनि आयोगले सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् ।

सांसद पाण्डे र भट्टले एमालेको अभिलेखबाट आफूहरूलाई हटाउन र एकीकृत समाजवादीको अभिलेखमा राख्न  अन्तरिम आदेश माग गरेका हुन् । पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।

उनीहरूले गत ९ भदौमा एकीकृत समाजवादी दल दर्तामा रहेको प्रक्रियामा सनाखतका लागि आयोगमा उपस्थित हुँदा पनि सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् । विधिवत् रूपमा सनाखतका लागि निवदेन दिएर आयोगमा उपस्थित हुँदा पनि आयोगले सनाखत नगरेको रिटमा भनिएको छ ।

हामी निवेदकलाई विधिवत सनाखत गराई एकीकृत समाजवादीको अभिलेखमा जनाउनुपर्नेमा विपक्षी आयोगले सो नगरी हालसम्म पनि हाम्रो नाम एमालेको अभिलेखमा जनाइरहेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् ।