धनगढी पोष्ट
शनिबार, १३ असार २०७७ मा प्रकाशित
धनगढी
बैतडीमा क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ का ५३ बर्षीय पुरुषलाई घरमै स्वास्थ्य समस्या देखिएपछि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाना पकाउने काम गर्दै आएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद अधिकारीले बताए । मृतक दुई महिनादेखि क्वारेन्टिनमा बसेकाहरुका लागि खाना पकाउँदै आएका थिए । शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तिको उपचारको लागि जिल्ला अस्पताल लैजाँँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।
क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको निधन भएकोले कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए । मृतकको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि धनगढी पठाइने जोशीले बताए ।