धनगढी पोष्ट
बिहिबार, २४ भदौ २०७८ मा प्रकाशित
धनगढी । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष केपिशर्मा ओलीलाई भेट्न बालकोट पुगेकिछन् ।
बिहीबार काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटघाट शुरु गरेकी छन् । भेटवार्ताको क्रम उनले प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट सुरु गरेकी छन् । बिहीबार दिउँसो उपाध्यक्ष फतिमासँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
एमसीसी पदाधिकारीसँग ओलीको छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् । यसअघि ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन पहल गरे पनि सकेको थिएन ।
नेपालमा विद्युत प्रशारण लाइन र सडकका विभिन्न परियोजनाका लागि एमसीसीसँग ५० करोड अमेरिकी डलर अनुदानमा हस्ताक्षर भए पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन नहुँदा काम सुरु हुन सकेको छैन ।
एमसीसी सम्झौता संसदबाट अनुमोदनको पहल गर्नका लागि उपाध्यक्ष फतिमाको टोली काठमाडौं आएको हो । यो टोलीले प्रधानमन्त्री र अरु दलका शीर्ष नेताहरुसँग पनि भेट्नेछ ।