धनगढी पोष्ट
शुक्रबार, २५ भदौ २०७८ मा प्रकाशित
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साभेदार दलका प्रमुख संग मन्त्रीको नाम मागेका छन् । शत्ता गठबन्धन दलका प्रमुख तथा प्रतिनिधी संग शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले छिटो मन्त्रीको नाम दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले बताइन् ।
‘प्रधानमन्त्रीले सरकार गठनमा निकै ढिलाई भएको भन्दै छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्छ भन्नुभाये,’ उनले भनिन्, ‘त्यसका लागि गठबन्धनबाट सरकारमा जाने सवै पार्टीलाई छिटो मन्त्रीको नाम दिन आग्रह गर्नुभएकोछ ।’
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागि भएका थिए ।
कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।