धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

चौधरी समुदायले ‘अट्वारी’ पर्व मनाइँदै

चौधरी समुदायले ‘अट्वारी’ पर्व मनाइँदै

धनगढी । कैलाली कञ्चनपुर लगायत नेपालको तराई क्षेत्रमा बसोबास गर्ने चौधरी तथा डगौंरा समुदायले आज धुमधामका साथ अट्वारी पर्व मनाइरहेका छन् ।

चौधरी समुदायले श्रीकृष्ण जन्माष्टमी पछिको पहिलो आइतबारलाई अट्वारी पर्व मनाउने गर्दछन् । आइतबारलाई अट्वार का नामले सम्बोधन गर्ने चौधरीले समुदायले सोही नाम अट्वार का आधारमा अट्वारी पर्व मनाउने गर्दछन् । श्रीकृष्ण जन्माष्टमी पछि चाडपर्व सुरु हुने भएका कारण पछि आउने चाडपर्वलाई स्वागन गर्न चौधरी समुदायले पहिलो आइतबारका दिन पर्व मनाउने गरेको थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारुले बताए ।

वर्षा ऋतुमा हुने खेतीको कामको व्यवस्तताबाट मुक्त पाइएको खुशियालीमा पनि यो पर्व मनाइने गरेको उनले बताए । अट्वारीका अवसरमा थारु समुदायका दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ ।

यसरी व्रत बसेकाहरुले साँझपख आआफ्नो घरमा खानाका मिठा परिकारको व्यवस्था गर्ने गर्दछन् । साँझको पूजा सकिएपछि घरमा पकाइएका खानाका परिकारलाई बर्तालुहरुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान यो परिकार विवाहिता आफ्नी छोरी, बहिनीको घरसम्म पु¥याइदिने प्रचालन छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीलाई अग्रासन अर्थात् खानका मिठा परिकार बाँड्ने परम्परा छ, चौधरीले भने,‘यसले एक आपसमा माय र सद्भाव बढ्ने गर्दछ ।  यस पर्वको दिनदेखि चौधरी समुदायमा बड्कीमार अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । अट्वारी पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।