धनगढी पोष्ट
आइतबार, २७ भदौ २०७८ मा प्रकाशित
धनगढी । तीज मनाउने क्रममा सामुहिक झगडा हुँदा कञ्चनपुरमा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार राती कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममै युवा विच सामुहिक झगडा भएको थियो ।
झगडामा परी ७ जना घाइते भएकामा ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताए । गम्भीर घाइते हुनेमा कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई रहेका छन् ।
चारै जनाको टाउकोमा चोट लागेको जनाइएकोछ । घाइते चारै जनाको धनगढीमा उपचार भइरहेकोछ । झगडामा कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएका र उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि रेफर गरिएको प्रहरी इन्चार्ज बोहराले बताए ।
झगडामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरा रहेका छन् । झगडामा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको बोहराले बताए ।