धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सडक बन्द हुँदा बाजुरामा खाद्यान्न अभाव

सडक बन्द हुँदा बाजुरामा खाद्यान्न अभाव

धनगढी । सडक बन्द भएपछि बाजुरामा खाद्यान्न अभाव भएकोछ । ३ महिना देखी सडक सुचारु नहुँदा खाद्यान्न ढुवानी हुन नसकेको र मौजुदा खाद्यान्न समेत सकिएपछि जिल्लामा खाद्यान्न अभाव भएकोहो । मौज्दात चामल सकिएपछि बाजुराको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी भदौ २८ गते देखी बन्द गरिएकोछ । सडक सुचारु नहुँदा सम्म खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी बन्द रहने जनाइएकोछ ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख शन्तोष विकका अनुसार शाखामा हाल प्राकृतिक विपद्का लागि ६० क्विन्टल मात्र चामल मौज्दात गरिएकोछ । ६० क्वीन्टल चामल प्राकृतिक प्रकोपका लागि छुट्याइएकोछ, उनले भने,‘सो चामल बेच्न पाइदैन, सडक सुचारु नभए सम्म खाद्यान्न ढुवानी गर्ने वातावरण पनि छैन । मौज्दात चामल सकिँदा बाजुराका आम सर्वसाधारणलाई समस्या भएको उनले बताए ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा पनि प्राकृतिक विपद् र जिल्ला कारागारमा रहेका कैदीलाई खान खुवाउन छुट्याइएको ७० क्विन्टल चामल मात्र रहेको जनाइएकोछ ।

यो आर्थिक वर्षको लगभग ५÷६ दिनभित्र ढुवानी सेक्टरको स्वीकृत हुने र त्यसपछि सके छिट्टै चामल ढुवानी गर्ने पहल गरिने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख शन्तोष विकले बताएका छन् । गोदाममा रहेको मौज्दात चामल सकिएपनि गहुँ विक्रि यथावतै रहेको उनले बताए ।

गहुँ १ सय ५० क्विन्टल मौज्दात रहेकाले गहुँ विक्रि वितरण यथावत रहेको निमित्त कार्यालय प्रमुख विकले बताए । उनले साँफे मार्तडीसडक खण्डको अम्कोट लगायतका थुप्प्रै स्थानमा पहिरो गएको र मानिसहरुलाई हिड्ने बाटो समेत नभएकाले सडक नखुलुन्जेल अहिले चामल ढुवानी गर्न सम्भव नभएको बताए ।