धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

डडेल्धुरामा पुनः वडा अधिवेसन गराउन माग गरिंदै

डडेल्धुरामा पुनः वडा अधिवेसन गराउन माग गरिंदै

धनगढी । बल प्रयोग गरेर डडेल्धुरामा वडा अधिवेसन गराइएको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सो जिल्लामा  पुनः वडा पार्टीको अधिवेशन गराउन माग गर्ने तयारी गरेकोछ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवलगायतलाई भेटेर पौडेल पक्षले आज (बिहीबार) ध्यानाकर्षण गराउन लागेका हुन् ।

डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्लसहित उनी पक्षले भाग नलिए पनि गत भदौ २५ गते वडा अधिवेशन गरिएको थियो । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरी सभापति शेरबहादुर देउवा पक्षले अधिवेशन गरेको भन्दै पौडेल पक्षले अस्वीकार गरिरहेको छ । पौडेल पक्षले डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न माग गर्दै आएकोछ ।

यसबारे पौडेल पक्षले आज निर्वाचन समितिमा पुगेर फेरि अधिवेशन गराउन ध्यानाकर्षण गराउन लागेका हुन् । पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पौडेलसहितका नेताले निर्वाचन समितिलाई भेट्ने कार्यक्रम रहेकोछ ।

वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र शेखर कोइरालालगायतले बिहीबार निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

पौडेल पक्षले हालै पत्रकार सम्मेलन गरेर डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न र यसअगाडि गरिएको अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिलाई आग्रह गरेको थियो ।