धनगढी पोष्ट
बुधबार, ०६ असोज २०७८ मा प्रकाशित
धनगढी । पुल मर्मत गर्नुपर्ने भएपछि कैलालीको शत्ति, बर्दिया जोड्ने पुल दुई हप्ताका लागि बन्द गरिने भएकोछ । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार पुलको मर्मत गर्दा आवागमन बन्द गरिने छ । पुल मर्मत कार्य मङ्गलबारदेखि सुरु भई असोज २० गते सकिने जनाइएकोछ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पुलको पूर्वतर्फका दुई स्पानको करिब छ इन्च छुट्टिएको छ । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुईपटक सर्वसाधारण तथा गाडी आवागमनमा बन्द गरिएको थियो । कर्णालीमा पुल निर्माण भएदेखि नै पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले तटबन्ध वर्षेनी भत्कने गरेको थियो ।
तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ दुईवटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी जीतबहादुर चौधले बताए । २०७१ मा निर्माण भएको १३ स्पान रहेको उक्त पुलको लम्बाइ ५ सय ३१ मिटर छ ।