धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कञ्चनपुरमा देउवा समुहमै दुई गुट

कञ्चनपुरमा देउवा समुहमै दुई गुट

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै लाईनमा रहेर राजनीतिक गर्दै आएका कञ्चनपुरका नेता दुई धारमा देखिएका छन् ।

देउवा पक्षमै रहेर कांग्रेसको केन्द्रिय राजनीति गर्दै आएका नेता रमेश लेखक र एनपि साउँद अहिले आआफ्नै गुट बनाएर कञ्चनपुरमा राजनीति गर्न थालेका छन् । कांग्रेसको आसन्न १४ औं महाँधिवेसनमा कञ्चनपुरका दुवै नेताले वडा तह देखिनै आआफ्ना प्यानल बनाएर प्रतिनिधी छनौट गर्न थालेपछि गुटको प्रभाव देखिएको हो ।

गाउँ÷नगरपालिकाको अधिवेशनमा संस्थापन (देउवा समूह) दुई चिरामा विभाजन भएको स्पष्ट देखाएको परेको छ । संस्थापन पक्ष निकट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र एनपि साउँदका कञ्चनपुरमा छुट्टाछुट्टै उपगुट छन् ।

कञ्चनपुरबाट कांग्रेसको केन्द्रीय राजनीतिमा छवि बनाएका लेखक र साउद निकटबीच अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । गाउँ÷नगर पालिकाको अधिवेशनमा साउँद र लेखकले गठबन्धन बनाएका छन् ।

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाको कांग्रेसको नेतृत्व हत्याउन लेखक र साउँद नै सक्रिय भएका छन् । कांग्रेस भीमदत्त नगरपालिका नगर कार्य समितिको नेतृत्वको लागि युवा नेता आशिष खत्री र अच्युत कलौनीले दाबी प्रस्तुत गरेका छन् ।

नगर सभापतिका उम्मेदवार कलौनी रमेश लेखक निकट हुन्, भने खत्री कांग्रेसको कोइराला समूहका हु न। यद्यपि अहिले उनलाई एनपी साउदले सघाइरहेको स्रोतको दाबी छ । लेखक निकट महेन्द्र खड्काले पनि भीमदत्त नगर सभापतिमा दाबी प्रस्तुत गरे पनि अहिले उनी पछाडि हटेका छन् । लेखक समूहको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा वर्चश्व छ भने साउद समूहको निर्वाचन क्षेत्र नम्बर २ मा दबदबा छ ।

पूर्वमन्त्री लेखकको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने कञ्चनपुर सदरमुकामस्थित भीमदत्त नगरपालिकाको नेतृत्व हत्याएर उनलाई कमजोर देखाउन पूर्वमन्त्री साउद सक्रिय भएका छन् । दुवै नेताहरु एक अर्कालाई कम्जोर बनाउने खेलमा लागेका भन्दै कांग्रेस कञ्चनपुरका कार्यकर्ताभने रष्ट बनेका छन् ।

लेखक र साउद महाधिवेशनका लागि गृहजिल्ला कञ्चनपुरमा छन् । उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन जिल्लाका नेता÷कार्यकर्तासँगको छलफललाई तिव्रता दिएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । असोज ९ गते नगरगाउँ अधिवेशन गर्ने कार्यतालिका छ । महाधिवेशन नजिकिदै गर्दा केन्द्रदेखि गाउँगाउँसम्मको चहलपहल बाक्लिएको छ। भीमदत्त नगरपालिका नगर कार्य समितिका लागि युवा नेता आशिष खत्री नेतृत्वको प्यानल घोषणा गरिएको छ । उनको प्यानलबाट उपसभापतिमा राजेन्द्र चन्द र सुशिल साउदलाई खडा गरिएको छ । यस्तै सचिवमा गगन सिंह धामी र पुष्करनाथ जोशीलाई अगाडि सारिएको छ ।

खत्रीकै प्यानलबाट सहसचिवमा दीपकराज विष्ट र हिरादेवी दमाईलाई उम्मेदवार बनाइएको छ। कांग्रेसलाई गुट, उपगुट रहित बनाएर बलियो र सुदृढ बनाउन नगर सभापतिमा उम्मेदवारी दिएको नेता खत्रीले बताए ।

सभापतिका दाबेदार खत्री र कलौनी दुवै जना विद्यार्थी राजनीतिबाट कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए । खत्री वि.सं २०५१ सालमा सिद्धनाथ विज्ञान क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई सभापति पनि बनेका थिए । त्यहीँबाट उनले सक्रिय राजनीति सुरु गरेका हुन् । वि.सं. २०६२र०६३ को आन्दोलनमा उनी सक्रिय रुपमा लागेका थिए । त्यहीँ क्रममा केही दिन उनी कारागार पनि बसेका थिए ।

नेविसंघको विद्यार्थी राजनीतिबाट पाइला टेकेका खत्री अहिले पनि कांग्रेसको राजनीतिमा सक्रिय छन् । सभापतिका अर्का दाबेदार कलौनीले वि.स. २०५७ सालमा नेविसंघबाट सक्रिय राजनीति थालेका थिए । उनले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सहमहामन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।