धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीमा दशै सुरक्षा योजना लागु

कैलालीमा दशै सुरक्षा योजना लागु

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले दशै, तीहार र छठलाई लक्षित गरेर नयाँ सुरक्षा योजना लागु गरेको छ ।

चाडपर्वका वेला हुन सक्ने अपराधिक क्रियाकलाप रोकी आम नागरिकलाई निर्धक्क चाडपर्व मनाउन सहज हुने तरिकाले दशै सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।

उनका अनुसार कैलाली जिल्लामा सशस्त्र प्रहरी संग सहकार्य गर्दै एकीकृत सुरक्षा योजना तयार गरेर सोही अनुसार सुरक्षा परिचालन गरिने छ । त्यसका लागि प्रहरीले दुई वटा मिसन टोली तयार पारेको अधिकारीले बताए । उनका अनुसार दुई वटै मिसन टोली जिल्लाका एक सय ७३ स्थानमा परिचालित हुनेछन् । जसमा साढे ७ सय जति प्रहरी खटिनेछन् ।

चाडपर्वमा कैलाली छोडेर पुख्र्यौलीघर जाने नागरिकको संख्या उच्च हुने भन्दै उनले त्यता तर्फ पनि प्रहरीले बिशेष ध्यान दिने बताए । उनले घर छाडेर जाने नागरिकलाई नजिकको प्रहरी चौकी, प्रहरुी विट वा सशस्त्र प्रहरीलाई त्यसको जानकारी दिएर जान पनि आग्रह गरेका छन् ।

जिल्लाका केही संवेदनशिल क्षेत्रमा तालिम प्राप्त कुकुरको समेत प्रयोग हुने गरी योजना तयार गरेका छौं, प्रहरी उपरिक्षक अधिकारीले भने,‘सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार रोक्न कडाई गरिने छ । चाडपर्वका बेला सीमा क्षेत्रबाट लागुऔषध र विस्फोटक पदार्थ ओसारपसार बढी हुनसक्ने हुँदा सीमामा बढी कडाई गरिने उनले बताए ।

प्रहरी प्रमुख अधिकारीले सवारी दुर्घटना न्यूनीकरणका लागि कैलालीको चिसापानी देखि अत्तरिया र अत्तरियादेखि फल्टुडेसम्म टाइम कार्ड लागु गरिने बताए । कैलालीमा दशै, तीहार र छठ सम्म साढे ७ सय प्रहरी र सोही अनुपातमा सशस्त्र प्रहरी परिचालन हुने छन् ।