धनगढी पोष्ट
शुक्रबार, ०८ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्काले शैक्षिक विकासका लागि प्रदेश सरकारले आफ्नै विश्व विद्यालय बनाउनु पर्ने बताएका छन् । सरकारले त्यसका लागि केही काम समेत गरेको भन्दै मन्त्री खड्काले रोकिएको काम अघि बढाएर विश्व विद्यालय निर्माणमा लाग्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विश्व विद्यालयको सम्भाव्यता अध्यना लागि २०७५ मै विज्ञ टोली सम्मिलित छानविन समिति गठन गर्ने निर्णय गरेको थियो । तर तत्कालिन सामाजिक विकास मन्त्री कृष्ण सुवेदिले विज्ञटोलीको संयोजक हुन योग्य व्यक्ति नपाएको भन्दै सोफाइल ४ बर्ष देखि थन्काएर राखेका थिए ।
फाइल थन्किएको ४ बर्ष पछि पुनः सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेश विश्व विद्यालय निर्माण प्रक्रिया अगाडी बढाइन बताएका छन् । मन्त्री खड्काले विज्ञ टोली सम्मिलित समिति गठन गरी काम अगाडी बढाइने बताएकाछन् ।
१० बर्षे शिक्षा योजनाको प्रारम्भिक खाका तथा अन्तरसम्बन्धका बारेमा प्रदेश सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाँशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले प्रदेशको समग्र शैक्षिक सुधारका लागि विश्व विद्यालय निर्माण गरिनु आवश्यक रहेको बताए । विश्व विद्यालय निर्माणका लागि मन्त्रालयले पहिले देखिनै काम थालेपनि कार्यदलले पुर्णता नपाउँदा काम रोकिएको बताउँदै मन्त्री खड्काले आगामी एक दुई दिनमै कार्यदल निर्माण गरिने आस्वासन दिएका हुन् ।
‘यहाँका सवै क्याम्पसलाई प्रदेशको मातहतमा समेट्ने गरी विश्व विद्यालय निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ,’ मन्त्री खड्काले भने,‘त्यसका लागि हामी छिट्टै विज्ञ टोली सम्मििलित समितिको टुङ्गो लगाउने छौं ।’
२०७५ फागुन २४ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको छलफल पछि विश्व विद्यालय स्थापनाको आवश्यकता छ वा छैन भन्ने निक्र्यौल गर्न शिक्षाको विज्ञ टोली सम्मिलित समिति गठन गर्ने निर्णय गरिएको थियो । सो निर्णय पश्चात सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले २०७५ सालमै विज्ञ टोली गठन गरी सो टोलीले दिएको राय सुझावका आधारमा प्रक्रिया अगाडी बढाइने बताएका थिए । तर ४ बर्ष सम्म पनि सो समिति गठन हुन नसकेपछि विश्व विद्यालय स्थापनाका अन्य प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
सामाजिक विकास मन्त्रालय शैक्षिक योजना, तथ्याङ्क तथा अनुसन्धान शाखाका शाखा अधिकृत जयदेव महराले लामो समय देखी रोकिएको विश्व विद्यालयको काम फेरी अघि बढ्ने बताए । उनले विज्ञ टोली गठनका लागि पुर्ण तयारी भइसकेको बताए । ‘एक दुई दिनमै विज्ञ टोली सम्मिलित समितिको टुङ्गो लाग्ने छ,’ शाखा अधिकृत मशराले भने,‘सो समितिले विश्व विद्यालयको आवश्यकता हो वा हैन भन्ने अध्यन गर्ने छ ।’
उनले चालु २०७६÷२०७७ आर्थिक बर्षमा प्राविधिक विश्वविद्यालय र पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्न एक÷एक करोड छुट्याइएको बताए । समितिमा एक जना संयोजक सहित ७ सदस्य रहने प्रावधान छ । सो समितिको संयोजक हुनका लागि विद्यावारिधी गरेर शिक्षा क्षेत्रमा अनुभव बटुलेको वा १० बर्ष भन्दा बढी सरकारी उच्च ओहोदामा रहेर काम गरेको व्यक्ति हुनु पर्ने प्रावधान रहेको अधिकृत महराले बताए ।
सरकारको चालु आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय स्थापना गर्ने उल्लेख थियो । सो अनुसार सामाजिक विकास मन्त्रालयले २०७५ फागुन २४ गते धनगढीमा गरेको दुई दिने वृहत छलफलमा उपस्थिती यस क्षेत्रका शिक्षामा विज्ञता हाँशील गरेका ब्यक्तिहरुले सरकारलाई प्राविधिक तथा कृषि विश्व विद्यालय स्थापना गर्न सुझाव दिएका थिए ।