धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

भारतीय नम्बर प्लेट भएका सवारी नेपाल भित्रन पाउने

भारतीय नम्बर प्लेट भएका सवारी नेपाल भित्रन पाउने

धनगढी । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै भारतीय नम्बर प्लेट भएका यात्रुबहाक सवारी नेपाल आउन रोक लगाउने निर्णय सरकारले खारेज गरेको छ ।

सरकारले डेढ बर्ष अघि भारतीय नम्बर प्लेट भएका सवारी आवागमन रोक्ने निर्णय गरेको थियो । अव भने ७२ घण्टा भित्रको स्वास्थ्य परिक्षण रिपोर्ट भएका भारतीय नागरिकले आफ्नै निजी सवारी मार्फत नेपाल आउन पाउने छन् । बिहीबार बसेको मन्त्रीपरिषदको निर्णयले भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए । त्यसका लागि सबै भन्सारलाई परिपत्र गरिसकेको उनले बताए । शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन दिइने जनाइएको छ ।

माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको त्रिनगर  भन्सार कार्यालय धनगढीले जनाइएको छ । त्रिनगर प्रहरी चौकिका इन्चार्ज प्रहरी नायव निरिक्षक रमेश शाहीका अनुसार शुक्रबारदेखि भारतीय नम्बर प्लेट भएका सवारी आवतजावत गर्न दिइएको छ ।

भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १ सय ५० र टेलरसहितको ट्याक्टरका लागि ७ सय ५० रुपैयाँ भन्सार काट्नु पर्ने छ ।