धनगढी पोष्ट
शनिबार, १६ असोज २०७८ मा प्रकाशित
धनगढी । दार्चुलाको व्यास गाउँपालिकामा पर्ने विकट क्षेत्र छाङरुमा बन्ने प्रहरी चौकी अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोली त्यसतर्फ गएको छ । व्यास नगरपालिका–१ मा पर्ने १ छाङरु तर्फ प्रस्थान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव निरिक्षक मनोहर भट्टनेतृत्वमा टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी पुस्कर सिह ऐरीले बताए ।
नेपाल भारत सीमा क्षेत्र रहेको सीतापुलमा बन्ने प्रहरी चौकी भवनको नाप, नक्साङ्कनका लागि दार्चुलाका प्रहरी प्रमुख डिएसपी भट्टको टोली छाङरु तर्फ गएको बताइएको छ । टोलीमा नापी कार्यालय दार्चुलाका प्रमुख, प्रदेश प्रहरी कार्यालयबाट आएका प्रहरीका प्राविधिक लगायत सात जना रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।
भारतले अतिक्रमण गरेको कालापानीबाट नजिक रहेको छाङरुमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिती बलियो बनाइरहेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि पक्की भवन बनाइदैछ भने प्रहरीको भवन निर्माणका लागि नाप, नक्साङ्कन गरिदैछ ।