धनगढी पोष्ट
बिहिबार, २१ असोज २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुदूरपश्चिमका प्रभावशाली नेता भानुभक्त जोशी नेकपा एकिकृत समाजबादी पार्टीमा लागेका छन् । बिहीबार नेकपा एसको स्थायी कमिटीको सातौं बैठकमा सहभागि हुँदै नेता जोशीले नेकपा एसमा गएको घोषणा गरेका हुन् । एकताका लागि १० बुदे सहमति संगै एमालेमै रहँदै आएका नेता जोशीले सो सहमति कार्यान्वयन नभएका कारण नेकपा एसमा लागेको बताएका हुन् ।
जोशी संगै बझाङको एमाले राजनीति पनि प्रभावित बन्ने छ । बझाङमा एमालेका धेरै नेता यस अघिनै नेकपा एसमा लागि सकेका छन् । जोशी एकिकृत समाजबादीमा गएसंगै बझाङका स्थानीय तहका नेता तथा जिल्ला कमिटिका नेता पनि एसमै लागने देखिएका छन् । छविस पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, शुर्मा गाउँपालीकामा जनप्रतिनिधी भानुभक्त जोशी निकट रहेका छन् ।
एकिकृत समाजबादी पार्टीमा लागेसंगै नेता जोशीले आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन पनि आग्रह गरिसकेका छन् । नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो। उक्त समयमा जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।
एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएका थिएनन् ।