धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025
दौडियो जुगेडा

पुरुष तर्फ ललित शाही र महिला तर्फ नेहा खड्का प्रथम

पुरुष तर्फ ललित शाही र महिला तर्फ नेहा खड्का प्रथम

धनगढी । वीजया दशमीको अवसरमा जुगेडा दौडेको छ । सोमबार धनगढी उपमहानगरपालिका१२ जुगेडामा आयोजित अव दौडिन्छ जुगेडा रिले दौड प्रतियोगिता अन्तरगत पुरुष तर्फ ललित शाही र महिला तर्फ नेहा खड्का प्रथम भएका छन् ।

जुगेडा नमुना क्लबको आयोजनामा सम्पन्न भएको अव दौडिन्छ जुगेडा रिले दौडमा पुरुष तर्फ १० किलोमिटर र महिला तर्फ ५ किलोमिटरको दुरी निर्धारण गरिएको थियो ।

जसमा पुरुष तर्फ ३६ मिनेट ४९ सेकेन्डमा लक्ष्य पुरा गर्दै ललित शाही प्रथम भएका छन् । यसैगरी ३८ मिनेट ५ सेकेन्डमा लक्ष्य पुरा गरेका राज शाही द्धितीय हुँदा ३८ मिनेट ४० सेकेन्डमा लक्ष्य भेटाएका आर्य विक तृतीय भएका छन् ।

यसैगरी महिला तर्फको ५ किलोमिटर दौडमा १८ मिनेट १९ सेकेन्डमा लक्ष्य पुरागरेकी नेहा खड्का प्रथम, १८ मिनेट ५५ सेकेन्डमा लक्ष्य पुरा गरेकी नन्दा विष्ट द्धितीय र १९ मिनेट २० सेकेन्डमा लक्ष्य पुरा गर्दै तुलक्षी शाही तृतीय भएकिछन् ।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुष धावकलाई समान १०÷१० हजार पुरस्कार प्रदान गरिने आयोजक नमुना युवा क्लवका अध्यक्ष प्रेम विकले बताए । यसंगरी द्धितीय हुने धावकलाई ५÷५ हजार र तृतीयलाई ३÷३ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा महिला र पुरुष गरी एक सय जनाले भाग लिएका थिए । पहिलो पटक जुगेडा क्षेत्रका खेलाडीमात्रै सहभागि गराइएकोमा आगामी दिनमा सवै क्षेत्रका खेलाडीका लागि सहभागि हुन पाउने गरी व्यवस्थापन गरिने अध्यक्ष विकले बताए ।

पहिलो पटक जुगेडामा आयोजना गरिएको रिले प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिंदै म्याराथुनको आयोजना गरिने अध्यक्ष बिकले बताए । यस अघि जुगेडामा फुटबल र भलिबल जस्ता प्रतियोगिता मात्रै सञ्चालन हुँदै आएकोमा यस पटक देखी एथलेटिक्स खेलको समेत सुरुवात गरिएको उनले बताए । उनले  एथलेलिक्समा पनि जुगेडाबाट खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।

कैलाली जिल्ला खेलकुदका एलथेटिक्सका प्रशिक्षक रामचन्द्र जोशीले प्रतियोगिता हुनु राम्रो भएको बताए । एथलेटिक्स खेलको जग भएको बताउँदै उनले सवै खाले खेलका लागि पहिला दौड छमता बढाउनु आवश्यक हुने बताए । उनले धनगढीका टोलटोलमा एथलेटिक्स प्रतियोगिता सञ्चालन हुनुपर्नेमा जोड दिए । यसका साथै प्रत्यक स्कुलमा एथलेटिक्स प्रशिक्षक राख्नुपर्ने उनको सुझाव छ । खेलाडी बन्न शारीरिक र मानसिक तन्दुरुष्त हुनु आवश्यक छ, उनले भने,‘त्यो फिटनेस एथलेटिक्सले मात्रै दिन सक्दछ ।

प्रतियोगिताको रिबन काटेर उद्धघाटन गर्दै धनगढी१२ का वडा अध्यक्ष गणेश जोशीले खेलनै अनुशासनको प्रतिक भएको बताए । उनले सवै खेलाडीलाई स्वस्थ्य तरिकाले आफ्नो क्षमता देखाउँन आग्रह गरेका थिए । खेलले व्यक्ति मात्र नभई समग्र जुगेडाको परिचय दिनेछ भन्ने मैले विश्वास लिएको छु, अध्यक्ष जोशीले भने,‘हामी सवैले प्रतियोगिता लाई सफल बनाउन लाग्नु पर्दछ ।