धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दशैमा किसान धान भित्र्याउन व्यस्त

दशैमा किसान धान भित्र्याउन व्यस्त

धनगढी । दशैको हर्ष उल्लास छाइरहँदा कैलालीका किसान भने धान भित्र्याउन व्यवस्त बनेका छन् । बर्षमा एक पटक आउने दशैमा रमाउने रहर हुँदा हुँदै पनि बर्ष भरीको छाक टार्ने धानलाई बिर्षन नसकेको किसान बताउँछन् । खेतमा पाकेर झुलिसकेको धानले मन लोभ्याउँछ धनगढी३ का स्थानीय हेमराज विष्टले भने,‘बाली नभित्र्याउँदा सम्म हामिलाई दशैले छुन सक्दैन, हाम्रालागि खेतमै दशै छ ।  बाली पाक्नेवेला  वर्षा भएमा बिग्रिने डरले हतारहतारमा धान भित्र्याउनुपरेको उनले बताए । अधिकांश किसान यति बेला धान काट्ने र काटेको धानलाई थ्रेसिङ गर्ने काममा व्यस्त देखिन्छन् । कोरोनाको जोखिम नहटिसकेको भए पनि मास्क र स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको भने देखिँदैन ।

यद्यपि कोरोनाबाट जोगिन एकआपसमा भौतिक दूरी कायम गरेर बाली भित्र्याउने गरिएको र कतिपयले खोप पनि पाइसकेकाले अब कोरोनाको त्यति डर नहुने कतिपय किसानको तर्क पनि छ ।

किसानको मुख्य आम्दानी स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन्। अधिकांश क्षेत्रफलको जग्गामा असार दोस्रो हप्तासम्म रोपिएको धान पाकेर बाला झुलिसकेको छ ।  प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस बर्ष कैलालीमा ७० हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती भएको थियो । समयमै बर्षा हुँदा यस बर्ष कैलालीमा बढी धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कैलालीको ७२ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै अँएको छ ।