धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024
प्रदेश सरकारले बोलायो आकस्मिक बैठक

सुदूरपश्चिममा बर्षाले मचायो वितण्डा

सुदूरपश्चिममा बर्षाले मचायो वितण्डा

धनगढी । विगत ३ दिन देखी भइरहेको अबिरल बर्षाले सुदूरपशिचममा वितण्डा मचाएको छ । लगातारको बर्षाका कारण प्रदेशभर जोखिम बढेको छ । महाँकाली नदीमा पानीको बहाव उच्च बनेको छ । अहिले महाँकाली नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् ।

महाँकाली नदीमा अहिले पानीको बहाव ५ लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताए । यसै गरी कञ्चनपुरका अन्य ससाना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्तिनै जोखिममा परेका उनले बताए ।

यसै गरी कर्णाली नदीमा आएको बाढीका कारण रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तरगत बनेको नहरको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिकानै जोखिममा परेका छन् । अहिले सम्म कर्णाली नदीका कारण ७० भन्दा बढी घर परिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत ससाना नदी तथा खोलामा पनि पानीको बहाव उच्च बनेको छ ।

यसैगरी बझाङ स्थित सेती नदीले पनि वितण्डा मचाएको छ । स्थानीय श्रोतका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुरनै जोखिममा परेको छ । यसै गरीसदरमुकाम संगै निर्माणाधिन बस पार्क समेत बगाएको बुझिएको छ । सुदूरपशिचममा बाढी र पहिरोमा परी ३ दिनमा ४ जनाको मृत्यु भइरहेको छ ।

कैलालीको खुटिएकाले बगाउँदा गोदावरी८ का ३० बर्षिया गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षिया बिष्णु अवस्थी र उनकी ६ बर्षिया छोरीको मृत्यु भएको छ । यसैगरी डोटीको सायल गाउँपालिका६ स्थित बिरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ ।

यसै गरी बझाङको थलारा गाउँपालिका४ मा पहिरो जाँदा २३ जना वेपत्ता भएको खबर आएको छ । बाढी तथा पहिरोमा परी दर्जन बढी पशु चौपाया मरेका छन् भने   सयौं परिवार विस्थापित तथा घरबार विहीन भएका छन् ।

सुदूरपशिचम प्रदेदेश सरकारकी प्रबक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सवै क्षत्रको राहत तथा उद्धारका लागि सरकार लागि परेको बताइन् । प्राकृतिक प्रकोप पछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद बैठक बोलाइएको उनले बताइन् ।

यसै गरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाइएको मन्त्री जोशीले अबताइन् । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठुलो हेलिकोप्टर त्यस तर्फ पठाइएको उनले बताइन् ।

यसै गरी कञ्चनपुरको ब्रह्मदेउ स्थित महाँकाली टापुमा फसेका ५ जना तथा कैलालीको मोहन्याल गाउँपालिका स्थित ठुलिगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा राखिएको मन्त्री जोशीले बताइन् । मौसम अनुकुल नहुँदा उद्धारमा कठिनाई भइरहेको उनले बताइन् ।

बझाङमा ठुलो मानविय क्षेति भएको भन्ने खबर आएपनि सञ्चार विच्छेद हुँदा एकिन हुन नसकेको बताउँदै मन्त्री जोशीले त्यस तर्फ थप सुरक्षा परिचालन गर्ने तयारी भइरहेको बताइन् ।