धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले उडान गर्ने

सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले उडान गर्ने

धनगढी । नेपाल वायु सेवा निगमले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिललामा उडान भर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हडाई सेवा सञ्चालन गर्न निर्देशन दिएपछि निगमले त्यसको तयारी थालेको हो । बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिएको बताए ।

मन्त्री आलेको निर्देशन पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमित रुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताएका छन् । उनले बाजुरामा यस अघिनै हवाई सेवा सञ्चालनमा रहेकोमा आगामी दिनमा बझाङ, बाजुरा र डोटीमा पनि नियमित हवाइ उडान सञ्चालन हुने बताए ।

बाढी पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई नागरिकले बाढी पहिराले बाटा, घाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाँज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिममा पहाडी जिल्लामा जहाँजको नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ ।