धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

अस्पतालमा विजुली नहुँदा उपचारमा समस्या

अस्पतालमा विजुली नहुँदा उपचारमा समस्या

धनगढी । कार्तिकमा भएको अबिरल बर्षाका कारण अबरुद्ध भएको विद्युत सेवा सुचारु नहुँदा बझाङ जिल्ला अस्पताला उपचार सेवा प्रभावित बनेको छ ।

अस्पतालका अनुसार उपचारका लागि प्रयोग हुने धेरै मेसिनरी सामाग्री विद्युतीय प्रणालीबाट सञ्चालन हुने गर्दछन् । तर एक हप्तादेखि विद्युत सेवा अबरुद्ध हुँदा जिल्ला अस्पताल बझाङमा स्वास्थ्य सेवानै प्रभावित बनेको छ ।

वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा विद्युत्का पोल बगाएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाईन विच्छेद भएपछि बझाङ जिल्ला सदरमुकाममा दुई सय किलोवाट क्षमताको स्थानीय सुर्मादेवी जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति भइरहेको छ । तर चैनपुरबाट नजिकै रहेको जिलला अस्पताल सिमखेतमा भने लघु विद्यतुको कनेक्सन छैन ।

विजुली नभएपछि बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेबुलाइजर, एक्सरे, भिडियो एक्सरे जस्ता स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको छ । विद्युत् समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पतालले जनाएको छ ।

दैनिक सयौंको संख्यामा बिरामीहरु अस्पताल आउने गरेको र विद्युत् नहुँदा उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डाक्टर योगेन्द्र खातीले बताए । विद्युत् सेवा अवरुद्ध भएको एक हप्ता भन्दा बढी भयो, उनले भने,‘ अपतालमा भएको जेनेरेटर चलाएर सेवा दिइरहेका थियौं, तर अव डिजेल पनि सकिएको छ, जेनेरेटर पनि चलाउन सकिने अवस्था छैन ।

बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजारमा डिजेल अभाव भएपछि अस्पतालको जेनेरेटर सञ्चालन गर्न नसकिएको उनले बताए । तत्कालै बाहिरबाट डिजेल ल्याउन सकिने अवस्था छैन,निमित्त प्रमुख खातीले भने,‘यस्तो अवस्थामा जटिल रोगी आएमा उपचार गर्न सम्भव नहुने देखिन्छ । उनले विजुली नहुँदा सामान्य नेवुलाईजर मेसिन समेत बन्द गर्नुपरेको बताए ।

उनले विद्युत् अभावमा आकस्मिक सेवा पनि प्रभावित भएको बताए । सुत्केरी हुन नसकेका र बाढीपहिरोमा परेर घाइते भएकाहरु उपचारका लागि जिल्ला अस्पताल आउने गरेका र यस्ता प्रकारका अधिकांश बिरामीहरुको शल्यक्रिया गर्नुपर्ने भए पनि विद्युत् नहुँदा समस्या भएको उनले बताए ।

चैनपुर बजारमा बिजुली बलिरहेको भए पनि संवेदनशील क्षेत्र अस्पतालमा बिजुली नभएको र विद्युत् सेवा सुचारु गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण शाखा चैनपुरमा जानकारी गराएको अस्पतालले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा चैनपुरले विद्युत्को खपत बढी र उत्पादन क्षमता कम हुँदा बजारमा पनि आलोपालो विद्युत् आपूर्ति गराइएको छ । अस्पताल लाइनमा पोल ढलेको र केही स्थानमा मर्मत गर्नुपर्ने भएकाले विद्युत् प्रसारण नियमित गर्न अझै समय लाग्ने वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्रराय यादवले बताए ।

जिल्ला अस्पतालको समस्या बारेमा आमी पनि जानकार नै छौं, उनले भने,‘हामीले मर्मतका लागि सक्दो प्रयत्न गरिरहेका छौं, ÷२ दिनमै सायद अस्पतालमा विद्युत सुचारु हुने छ । उनले  अस्पताल लाइनमा पहिरोले विजुलीका पोल ढालेको र ट्रान्सफर्मरमा समस्या देखिएका कारण विद्युत आपुर्ति गर्न समय लागेको बताए ।

राष्ट्रिय प्रसारण लाइन मर्मतमा अझै समय लाग्ने देखिन्छ, उनले भने, ‘हामी अस्पतालमा पनि चाँडै यसै लाइनबाट अस्पतालमा विद्युत् आपूर्ति गर्ने प्रयास गरिरहेका छौं । बैतडीको खोडपेदेखि चैनपुरसम्म एक सय भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने देखिन्छ । डडेल्धुरासम्म सडक खुलिसकेकाले अवरुद्ध विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।