धनगढी पोष्ट
मङ्गलबार, ०९ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप एक लाख ५० हजार प्रदान गरेको छ । शिवनाथ–६ बसेडीका भानु , देवानी र पवित्रा पार्कीको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । उनीहरुको यही कात्तिक २ गते पहिरोमा पुरिएर मुत्यु भएको थियो।
गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुस्मा चन्दलगायतको टोलीले पीडितको घरमै पुगेर सो रकम हस्तान्तरण गरेका हुन् । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएबमोजिम राहत प्रदान गरिएको हो ।
गाउँपालिकाका तर्फबाट जनही ५० हजारका दरले नगद प्रदान गरिएको र खाद्यान्न सामग्री पनि वितरण गरिएको जनाइएको छ । पहिराले घर लगेपछि आफन्तको घरमा आश्रय लिएर बसिरहेका पीडित परिवारलाई एक क्विन्टल चामल, १० किलो दाल, चार किलो नुन पनि गाउँपालिकाले वितरण गरेको हो ।
पहिरोपीडित उचित बसोबासका लागि पनि पालिकाले पहल गर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए । गाउँपालिकाले तत्काल राहत कार्यविधिअनुसार पहिरामा पुरिएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको र अन्य ठाउँको पनि क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उनले बताए ।