धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

दार्चुलाको तिंकरमा रहेको प्रहरी चौकी छाङरु सर्यो

दार्चुलाको तिंकरमा रहेको प्रहरी चौकी  छाङरु सर्यो

 

धनगढी । दार्चुला स्थित चीन संगको सीमा क्षेत्र ब्यास गाउँपालिका१ तिंकरमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको छ । कार्तिक महिनाको सुरुवातमै भएको हिमपातका कारण अत्यधिक चिसो बढेपछि प्रहरी टोली छाङरु झरेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए ।

सीमा प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायब निरीक्षक हर्क महतारा नेतृत्वको प्रहरी टोली कार्तिक ६ गते छाङरुमा सरेको उनले बताए । तिंकर गाउँ भन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । तिंकरमा चिसोले पानी समेत जम्ने अवस्था भएपछि प्रहरी टोली छाङरु झरेको छ, डिएस्पि भट्टले भने,‘तिंकर गाउँ सम्म छाङरुबाटै गस्ती गरिने छ ।

छाङरु प्रहरी चौकीबाट पनि चार जना वडा नं २ दुम्लीङ प्रहरी चौकी झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर सिह ऐरीले बताए । दुबै चौकीका प्रहरी बस्न ठाउँ अभाव भएर केहि दुम्लीङ झरेका प्रहरीले जनाएको छ । सीतापुलमा प्रहरीको नयाँ भवन निर्माणको काम समेत भइरहेको छ ।

सितापुल भारतसंग सीमा जोडिएको क्षेत्र हो । भारतको गव्र्याङ गाँउ र नेपालको छाङरु गाँउ जोड्ने नाका सितापुल हो । सितापुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ । छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा तिंकर गाँउ रहेको छ । तिंकर उत्तरतर्फको अन्तिम वस्ती हो । तिंकरबाट ५÷६ घण्टा हिमाल चढाईपछि चीनको सिमाक्षेत्र पुगिन्छ ।

भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँहरु छाङरु र तिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना हुनुभन्दा पहिले छाङरु र तिंकरको प्रहरी टोली हिउँदमा ब्यास गाउँपालिका२ स्थित दुम्लीङ झर्ने गरेको थियो । सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरी पनि छाङरुमा बाह्रै महिना उपस्थिती जनाउन थालेको छ ।