धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सडक अबरुद्ध हुँदा पहाडी जिल्लामा औषधि अभाव

सडक अबरुद्ध हुँदा पहाडी जिल्लामा औषधि अभाव

धनगढी । सडक सुचारु हुन लामो समय लागेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधीको अभाव हुन थालेको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।

अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अबरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको बताए । अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, उनले भने,‘निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एकदुई दिनमै ढुवानी नभए औषधिको चरम अभाव हुने छ ।

जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पचास शैयाको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि पुगने औषधी मात्रै रहेको अस्पतालका निर्देशक अर्जुन बलायरले बताए ।

औषधी ढुवानीको समस्याका कारण स्थानीय निकायमा पनि औषधि अभाव देखिन थालेको छ । गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।