धनगढी पोष्ट
बिहिबार, ११ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपि ओलीले अनावश्यक रुपमा न्यायालयमाथी हस्तक्षेप गरिरहेको बताएका छन् ।
नेता नेपालले केपि ओलीले विभिन्न बखेडा झिकेर न्यायालयलाई बदनाम गर्नखोजेको बताए । ओलीले यस अघिपनि न्यायालयलाई बदनाम गराएको उनको आरोप छ ।
बिहीबार कञ्चनपुर स्थित नेकपा एसको पार्टी कार्यालय उद्घाटन गर्नैका लागि धनगढी विमानस्थगल पुगेका अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा छलफल नै नभएको बताए ।
अध्यक्ष नेपालले त्यस विषयमा गठबन्धन संग कुनै छलफल नै नभएको बताउँदै भने ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिरै छु, हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।’
केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको अध्यक्ष नेपालको भनाई छ ।
अध्यक्ष नेपालले आफ्नो पार्टी नेता प्रधान नभई नीति प्रधान भएको बताए । उनले भने–‘पार्टी नेताको लहडमा चल्ने होइन, नीति अनुसार चल्नुपर्दछ, हाम्रो पार्टी नीति अनुसारनै चल्छ ।’
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन नजिकै आइरहेकाले सम्पूर्ण पार्टी पङ्तिलाई निर्वाचनको तयारीमा जुट्न समेत आह्वान गरे । उनले भने–‘अहिले हाम्रो पाँच दलिय गठबन्धन छ, आगामी निर्वाचन सम्म पनि गठबन्धन कायम रहन्छ ।’ तर नेता नेपालले आफ्नो पार्टी कुनैपनि पार्टीसंग तत्काल एकिकरण भने नगर्ने बताए ।
पत्रकारको जिज्ञासामा अध्यक्ष नेपालले अर्लि इलेक्सनबारे कुनै छलफल पनि नभएको र हुने सम्भावना पनि नरहेको बताए । ‘अहिले निर्वाचन आयोगले रिक्त रहेका संघ र प्रदेशको निर्वाचनका लागि मिति ताकेको हो’ अध्यक्ष नेपााले भने–‘अर्लि निर्वाचन हुन सक्दैन ।’
उनले वेमौससिम बर्षापछि आएको बाढी पहिरोका कारण सुदूरपश्चिममा बढी क्षेति भएको बताउँदै पिडितका समस्या सम्बोधन गर्न राज्यले तत्काल कदम चाल्नुपर्ने बताए ।