धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सडक सुचारु नभएका स्थानमा औषधी अभाव

सडक सुचारु नभएका स्थानमा औषधी अभाव

धनगढी । बर्षा, बाढी र पहिरोका कारण अबरुद्ध बनेका सडक सुचारु नहुँदा सुदूरपशिचमका पहाडी जिल्लामा औषधी अभाव भएको छ ।

राजमार्गहरु बन्द भएपछि दसैँयता औषधीहरु ढुवानी हुन नसकेको प्रदेश आपुर्ति कार्यालयले जनाएको छ । औषधि ढुवानीको तयारी हुँदै गर्दा लगातार परेको वर्षाले ठाउँठाउँका राजमार्ग अवरुद्ध भएपछि ढुवानी रोकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ । पहाडी जिल्लाका कतिपय अस्पतालमा टाइफाइड, ज्वरो, ग्यासट्राइटिस तथा दीर्घरोगीले बढी प्रयोग गर्ने ब्लडप्रेसर, सुगर, थाइराइडका औषधि अभाव हुन थालेको छ ।

चार महिनादेखि सडक अवरुद्ध हुँदा बाजुरामा औषधिको अभाव देखिएको छ । कतिपय स्वास्थ्य संस्थामा सिटामोललगायत अत्यावश्यक औषधि सकिएको छ । औषधि अभावमा बिरामीलाई रित्तो हात पठाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

ज्वरो, रुघाखोकी, निमोनिया आदिको उपचारमा प्रयोग गरिने औषधीहरुको मौजदात सकिएको स्वामीकार्तिक गाउँपालिकाको साप्पाटा स्वास्थ्य चौकीका प्रमुख बद्रीबहादुर शाहीले बताए । यसैगरी बाजुराकै बुढीगंगा नगरपालिकास्थित बुढीगंगा स्वास्थ्य चौकीमा पनि औषधीको अभाव हुन थालेको स्वास्थ्य चौकी प्रमुख भेषराज पण्डितले बताए । स्वास्थ्य चौकीम आँखा, कानमा हाल्ने औषधीको मौजदान नरहेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयमै औषधी नरहेकाले ल्याउन नपाएको पण्डिले बताए । स्वास्थ्य संस्थाहरुमा एण्टीबायोटिक, सिटामोल, ब्रोफिनलगायत औषधीहरु अभाव देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । ढुवानी हुन नसक्दा जिल्लामा पनि औषधीको स्टक लगभग सकिएको उनले बताए । दसैँलगत्तै पहिरोले सडक अवरुद्ध भएको ठाउँसम्म गाडीबाट र त्यहाँबाट बोकेर औषधी ढुवानी गर्ने तयारी रहे पनि पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध हुँदा ढुवानी रोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाजुरा जोड्ने साँफेमार्तडी सडक गत असारबाट अवरुद्ध छ । सडक खण्डअन्तर्गत बुढीगंगा नगरपालिका, अम्कोटमा गत असारमा पहिरो गएपछि अवरुद्ध सडक सुचारु हुन सकेको छैन । गत साता भएको वर्षाले अम्कोट क्षेत्रमा पुनः पहिरो गएकाले सडक सुचारु हुन समय लाग्ने देखिएको बुढीगंगा नगरपालिकाका उपमेयर तारा खातीले बताइन् ।

यस्तै डोटीमा ग्रामीण सडक अवरुद्ध हुँदा औषधी ढुवानी हुन नसकेको बोगटानफुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताएका छन् । उनका अनुसार औषधकी ल्याउने तयारी भइरहेका वेला ठुलो बर्षा भएपछि समस्या भएको हो । अहिले बाहिरबाट औषधि आयात गर्न सकिने अवस्थानरेको उने बताए ,

यसैगरी बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । सडक अवरुद्ध रहेकाले अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ । जसका कारण जिल्ला अस्पतालले रेफर गरेका बिरामी प्रत्यक्ष मारमा परेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताए । सडकमार्ग अवरुद्ध रहेकाले हवाइ मार्गमात्र विकल्प रहेको, तर टिकट पाउन मुस्किल रहेकाले बिरामी समस्यामा परिरहेको उनको भनाइ छ।

पहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध पारेकाले सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ । जिल्ला अस्पतालमा महिना दिनलाई पुग्ने औषधि स्टक रहे पनि लामो समयसम्म सडक अवरुद्ध भए औषधिको संकट पर्न सक्ने उनले बताए ।

कार्तिक पहिलो साताको भारी वर्षाका कारण गएको बाढीपहिरोले सुदूरपश्चिमका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन ।