धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

बाढी प्रभावित परिवारलाई पुनस्र्थापनामा समस्या

बाढी प्रभावित परिवारलाई पुनस्र्थापनामा समस्या
file photo.

धनगढी । कैलालीमा बाढीका कारण प्रभावित बनेका परिवारलाई पनस्र्थापन हुन समस्या भएको छ । करिव ४ दिन सम्म बाढीको पानी घर भित्र रहदा कच्चि घरको अवस्था जिर्ण बन्नु र राम्ररी पानी नभिजेका कारण प्रभावितलाई पुनस्र्थान हुन केही समय लागने देखिएको छ । 

मेरो परिवार अहिले पनि वनमै बनाएको झपडिमा बसेका छ, कैलालीको भजनी नगरपालिका, हिम्मतपुरका शिवलाल चौधरीले भने,‘घरमा पानी नसुकेका कारण हामी वनमै बसिरहेका हौं । उनले पानी सुकेपनि घर मर्मत गर्न समस्या भएको बताए । घरमा भएको अन्न बाली बाढीले नष्ट गरेका कारण भएको पैसा खाद्यान्नमा खर्च गरेको सुनाउँदै उनले घर मर्मतका लागि पैसा अभाव रहेको बताए । टहराको बसाइ निकै कष्टकर भए कतै जाने विकल्प नभएको उनले बताए ।

घरबास नदीले लग्यो । बचेको केही धुर जग्गा नदीकै किनारामा परेकाले त्यहाँ घर लगाउन मिल्ने अवस्था छैन, चौधरीले भने,‘ ‘घरटहरा बनाउन अन्यत्र आफ्नो जग्गा छैन, हामी विचल्लीमा परेका छौँ ।

सोही ठाउँका स्थानीय जयराम चौधरीले पनि बाढी पछि राजमार्गमै बसोबास गर्ने गरेको बताए । घर भत्केको छ, उनले भने,‘पुनर्निमाण नगरेर त्यहाँ बस्ने अवस्था छैन, आर्थिक अभावका कारण पुनर्निमाण गर्न सकिएको छैन । मोहनाको कटानले घर जोखिममा परेपछि उनि विस्थापित भएका थिए । विस्थापित स्थानीय जयराम चौधरीको परिवार हुलाकी राजमार्गको छेउमा त्रिपाल टाँगेर बसेको छ ।

घामपानी, हावाहुरी नछेक्ने टहरामा बस्दा सर्प, किराफट्याङग्रा आदिको उत्तीकै डर रहेको उनले बताए । खानेपानी, शौचालयको निकै समस्या छ, चौधरीले भने, ‘विस्थापित साना बालबालिका र बुढापाकाहरुलाई झन् सास्ती छ । घरबास बाढीले बगाएकाले कहाँ बस्ने भन्ने अन्यौल रहेको चौधरीले दुखेसो पोखे ।

मोहना नदी कटानले घर बगाउन थालेपछि विस्थापित भएका हिम्मतपुर गाउँका १५ परिवार बिचल्लीमा परेका हुन् । गत साउन पहिलो साता विस्थापित भएका उनीहरु स्थानीय हिम्मतपुर सामुदायिक वन र हुलाकी राजमार्गको छेउछाउमा टहरा बनाएर बसिरहेका छन् । घरबास नदीले कटान गरिसकेकाले उनीहरुको उठीबास भएको छ । घरबास नहुँदा आफूहरु विचल्लीमा परेको पीडितको गुनासो छ ।

जमिन कटान गर्दै नदी बस्तीमा सोझिएपछि उनीहरु विस्थापित भएका हुन । नदीले बगाउनुअघि नै प्रहरी र स्थानीय मिलेर जोखिममा रहेका घर भत्काएर सामान सुरक्षित स्थानमा सारेका थिए । नदीले बगाउन थालेपछि आफ्नै घर भत्काएर विस्थापित हुनु परेको पीडित किसनलाल चौधरीले बताए ।