धनगढी पोष्ट
बुधबार, १७ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । डोटीमा बाढी पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई नगद दुई लाख प्रदान गरिएको छ ।
सरकारले बाढी पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले उक्त रकम वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
सायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाउने ६ जनाका परिवारका सदस्यलाई गाउँमै गएर राहत रकम दिएको विष्टले बताए । बाढी पहिरोका कारण सायल गाउँपालिका १ का बिरे रोकाया, वडा नं ४ का जंगबहादुर विष्ट, वडा नं ५ का हिरुवा लुहार, देव डुम्रेल, वडा नं ६ का सागर कुन्जेडा र आशिष कुन्जेडा गरी ६ जनाको ज्यान गएको थियो ।
आशिष र सागर एकै परिवारका हुन् । उनीहरुको परिवारले भने मन्त्रिपरिषदको निर्णय अनुसार ३ लाख रुपैयाँ पाएका छन् ।
बाढी पहिरोजन्य विपदबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । राहत रकम वितरण गर्न बाँकी परिवारलाई पनि तत्कालै उपलव्ध गराइने विष्टले बताए ।