धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

विपन्न परिवारलाई घर निर्माण गर्न निःशुल्क काठ उपलब्ध गराइने

विपन्न परिवारलाई घर निर्माण गर्न निःशुल्क काठ उपलब्ध गराइने

धनगढी । शुक्लाफाँटा नगरपालिका८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले आफ्ना उपभोक्ता मध्य विपन्न परिवारलाई घर निर्माण गर्न निःशुल्क काठ उपलब्ध गराउने निर्णय गरेको छ ।

समुहले उनीहरुलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो। विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न नसक्ने देखिएपछि निःशुल्क रुपमा काठ उपलव्ध गराउने निर्णय गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले बताए ।

झुपडीमा वर्षौंदेखि बस्दै आएका विपन्न, एकल महिला, घरबासका लागि मात्रै जग्गा भएका आयस्रोत नभएका उपभोक्तालाई ढुवानी चिरानी खर्च सामुदायिक वनले बेहोर्ने गरी काठ उपलब्ध गराउँदै छौँ, उनले भने, ‘यस कार्यबाट सहजरुपमा विपन्न परिवारले बस्नका लागि घर पाउँछन् ।

सामुदायिक वनका उपभोक्तामध्ये विपन्न अवस्थाका उपभोक्ताको पहिचान गर्ने कार्य भइसकेको उनले बताए । विपन्न अवस्थाका ६५ उपभोक्तालाई निःशुल्करुपमा काठ उपलब्ध गराउनका लागि छनोटमा परेका छन् । अपाङ्गता भएका व्यक्तिलाई समितिले भत्ता दिने व्यवस्थासमेत गरिएको छ ।

चार वर्षदेखि नियमितरुपमा समितिले दुई दर्जन बढी अपाङ्गता भएका व्यक्तिलाई मासिकरुपमा ३०० का दरले भत्ताबापत रकम उपलब्ध गराउँदै आएको छ। उपभोक्ताको मृत्यु संस्कारमा प्रयोग हुने गरी समितिले निःशुल्करुपमा दाउरासमेत उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा अन्तिम संस्कारका लागि दाउरा उपलब्ध गराउँदै आएका छौँ, समितिका अध्यक्ष महराले भने, ‘बेवारिसे शवको दाहसंस्कारका लागिसमेत निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।