धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बडुवाल हत्या प्रकरणमा ८ जना पक्राउ

बडुवाल हत्या प्रकरणमा ८ जना पक्राउ

धनगढी । कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको हो ।

प्रहरी प्रमुख अधिकारीका अनुसार चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि घटनाको अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

युवकको हत्या घटनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनको संग्लनता हुन सक्ने अनुमान गरिएको छ, प्रहरी प्रमुख अधिकारीले भने, ‘नविन अहिले सम्म परार छन्, उनको खोजि भइरहेको छ । युवकको मृत्युपछि स्थानीयबाट संगम होटलमा तोडफोड गर्ने प्रयास भएको र सो क्रममा सोधपुछका लागि पनि रावलको परिवारलाई सुरक्षाका दृष्टिले पनि नियन्त्रणमा लिइएको उनले बताए ।

प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको विवाद भएको थियो । आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो ।

प्रहरीले बडुवालको हत्या आरोपमा अन्य ५ जनालाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले चक्कु प्रहार गरेको आरोपमा आर्यन देवकोटासहित ४ जनालाई पनि पक्राउ गरिएको छ ।