धनगढी पोष्ट
बुधबार, २४ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीसहितका नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्र र एमालेबीचको एकता पूर्व पार्टीका अध्यक्ष रहेका जोशीसहित उपाध्यक्ष बिरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटी लगायतका नेता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई डडेल्धुरामा बुधबार आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । डा.जोशीले एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएका कारण आफूहरु समाजवादीमा समाहित भएको बताएका छन् । जोशी संगै उपाध्यक्ष, सचिव तथा अन्य विभिन्न भातृ संगठनका प्रमुख समेत गरेर १४ जना समाजवादीमा समाहित प्रवेश गरेका छन् ।
एमालेको नवौँ अधिवेशनबाट डडेल्धुराको अध्यक्षमा निर्वाचित भएका जोशीले पार्टी जेठ २ मा नफर्किएपछि समस्या भएको बताउँदै आएका छन् । अहिले एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद छन् ।