धनगढी पोष्ट
आइतबार, २८ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत दार्चुलाको ब्यास गाउँपालिका– मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन । ब्यास गाउँपालिका– १ मा पर्ने पाँच गाउँहरु कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँ मध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।
अतिक्रमित क्षेत्रको समेत बैक्लपिक विधिबाट जनणना गर्ने दाबी तथ्याङ्क विभागले गरिरहेका बेला अतिक्रमित क्षेत्र नजिकका नेपालकै प्रशासनिक अधिकार कायम रहेका गाउँहरुमा जनणना गर्न समेत सकस भइरहेको छ । त्यस क्षेत्रमा जान नेपालको भूगोल भएर बाटो नभएका कारण भारतीय प्रशसानसंग अनुमति लिनुपर्ने बाध्यता रहेको छ । तर गणकलाई सो क्षेत्रमा जानका लागि भारतीय प्रशासनले अनुमति दिन आलटाल गरिरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदम राज पाण्डेले बताए ।
दार्चुलाका ९ वटा स्थानिय तहहरुका ६१ वटै वडामा जनणनाका लागि १ सय ८३ जना गणक खटाइएको जनणना कार्यालय दार्चुलाका प्रमुख पदम राज पाण्डेले बताए । जिल्लाका अन्य वडाहरुमा जनगणनाका लागि कार्तिक २३ गते नै गणकहरु खटाइएको थियो ।
ब्यास गाउँपालिका– १ अन्तरगत पर्ने गाउँहरु तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी पाएका राजेन्द्र कार्कीलाई भारतीय बाटो प्रयोग गर्न भारतीय प्रशासनले हाल सम्म अनुमति नदिएपछि गणना गर्न जान पाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्र्तगतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकले भारतीय बाटो प्रयोग गर्नका लागि अनुमति मागेको भएपनि हाल सम्म उक्त पत्रको कुनै जवाफ नआएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाई छ ।
भारतको धार्चुला तहशिल अन्र्तगत छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रबेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवस्यक हुन्छ । छियालेकबाट करिब ५ किलोमिटर उत्तरि क्षेत्रमा नेपाली गाउँ छाङरु जाने महाकाली नदीमाथी काठको पुल रहको छ ।
उक्त नाकालाई सीतापुल भनिन्छ । ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकहरुलाई भारतीय प्रशासनले अमुति दिइरहेको भएपनि गणकलाई भने अनुमति दिन भारतीय प्रशासनले अमल्याइरहेको छ ।
‘सुरुमा बाटो अवरुद्ध छ, बाटो खुलेपछि अनुमति दिन्छौ भनेको थियो,’ पाण्डेले भने,‘तर बाटो अवरुद्ध पनि छैन, अरुले अनुमति पाइरहेका पनि छन् तर गणकले अनुमति पाएको छैन ।’, विहीवार भारतको धार्चुला प्रशासनलाई छाङरु र तिंकरमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजिकरणका लागि पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताइन् ।
‘हिजो एसडिएम संग यहि विषयमा फोनमा पनि कुरा भएको थियो, उनले भनिन्,’ उनले भनिन्,‘अनुमति पाए कि पाएनन् भन्ने विषयमा जनणना कार्यालयबाट जानकारी आएन ।,’
भारतले अनुमति नदिए नेपालको बाटोको अवस्था बुझेर गणक संग एक जना पठाएर उक्त क्षेत्रमा जनगणनाका लागि पठाइने जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाई छ ।
ब्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकर जाने बाटो भारतले निर्माण गरिरहेको तावाघाट लिपुलेक सडकका कारण अवरुद्ध ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । गत बर्ष नेपाली सेनाले घाटिबगड क्षेत्रमा उक्त क्षेत्र जोड्ने बाटो निर्माण गरेको थियो । सेनाले निर्माण गरेको बाटो पनि भारतीय सडक निर्माणका क्रममा प्रयोग भएको जिलेटिनले क्षविक्षत बनेको छ ।