धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

विधान विपरित प्रतिनिधि छनोट गरेको भन्दै एमालेमा बिरोध

विधान विपरित प्रतिनिधि छनोट गरेको भन्दै एमालेमा बिरोध

धनगढी । विधि र पद्धतिलाई कुल्चेर गैरकानूनी तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै कैलाली क्षेत्रनम्बर ५ मा एमालेका कार्यकर्ताले विरोध जनाएका छन् । मसिर १० गतेदेखि चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा काठमाण्डौंका नेताको आदेश अनुसार प्रतिनिधी छनौट गरिएको भन्दै असन्तुष्ट पक्षले विज्ञप्ति समेत जारी गरेका छन् ।

महाँधिवेसन प्रतिनिधी छनौंटको विषयमा असुन्तुष्टि जनाउँदै एमाले नेता शम्भु कुँवर, तेजबहादुर रावल, तारा कलेल र मिठ्ठुबहादुर कुँवरले विज्ञप्ती जारी गरेका हुन् । उनिहरुले पार्टी विधान विपरित अवैधानिक रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् ।

आधिकारिक रुपमा जनताको बहुदलिय जनवादलाई सिद्धान्तको रुपमा अगिंकार गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धा गर्न÷गराउनबाट बञ्चित गराउनु भनेको जनताको बहुदलिय जनवादकै खिलाफ रहेको हाम्रो बुझाई छ, विज्ञप्तीमा भनिएको छ,‘यो एकात्मक निरङकुश शैली हो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन बम, राजेश खाती, डिल्लीराज खडका, झुमा चौधरी र छाया थापा महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।

यस्तै एमालेका नेता तथा सांसद झपट रावलले पनि कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन् ।