धनगढी पोष्ट
मङ्गलबार, ३० कार्तिक २०७८ मा प्रकाशित
धनगढी । भारतबाट ल्याइएका गरगहना र नगद सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार राति बेलौरी नगरपालिका–१ पटैयाका लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए ।
भारतीय प्रहरीको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक विष्टले बताए । उनीहरुलाई भारतबाट चोरी गरेर ल्याइएका सुनका गरगहना र लाखौं नगद रकमसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सुन, चाँदीलगायत सबै सामग्री करोडौं मूल्यको भएको र पहिचानका लागि प्राविधिक बोलाएर काम भइरहेको प्रहरी निरीक्षक विष्टले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ परेकाहरुले भारतको बेङग्लोरबाट गरगहना, नगद र सुन चोरी गरेर नेपाल ल्याएको भन्दै सशस्त्र प्रहरीलाई खबर आएको थियो । त्यसपछि नेपाल प्रहरीलाई खबर गरी घरमै छापा मारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका एसपी बीरेन्द्र ऐरले बताए ।